प्रदेशलाई खेलकुदको हब बनाउनेः मुख्यमन्त्री राई

प्रदेशलाई खेलकुदको हब बनाउनेः मुख्यमन्त्री राई
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मोरङ । प्रदेश १ स्तरीय आइटिएफ तेक्वान्दोे टेक्निकल तालिम शुक्रबारदेखि विराटनगरमा सुरू भएको छ ।

१ नम्बर आइटिएफ तेक्वान्दो संघले आयोजना गरेको दुई दिने टेक्निकल तालिमको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरे । मुख्यमन्त्री राईले कार्यक्रमको उद्घाटन गर्दै खेलकुद क्षेत्रलाई उच्च प्राथामिकतामा राख्दै प्रदेशलाई सबै विधाको खेलकुदको हबको रूपमा विकास गर्ने बताए । ‘खेलाडी राष्ट्रको गहना भएकोले यस क्षेत्रलाई व्यवसायिक बनाएर खेलाडीको भविष्य सुनिश्चित गर्नुपर्छ,’ मुख्यमन्त्री राईले भने, ‘खेलकुद क्षेत्रमा लागेर खेलाडीहरू अन्यौलमा परेका छन् । पुराना खेलाडीहरूको अवस्था दयनीय छ । हिजो राज्यले खेलकुद क्षेत्रलाई नहेर्दा व्यवसायिक बन्न सकेन । तीन तहको सरकार भएकाले अब खेलकुदलाई व्यवसायिक बनाउँदै अघि बढ्ने छौं ।’

प्रदेशको खेलकुद कानुन पनि बनाइसकेको हुँदा प्रदेशको खेलकुद परिषद चाँडै गठन हुनेछ । प्रदेश सरकारले एक पालिका एक रंगशालाको अवधारणा पनि अघि सारेको मुख्यमन्त्री राईले बताए । ‘खेलकुदका नयाँ पूर्वधारहरू प्रदेशमा धमाधम निर्माण भइरहेको र पुराना संरचनाको पुनर्निर्माणको काम भइरहेको छ,’ मुख्यमन्त्री राईले भने ।

आइटिएफ खेलाडीको व्यक्तित्व विकास गराउनुको साथै खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले टेक्निकल तालिम आयोजना गरेको आइटिएफका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश अध्यक्ष प्रवीण  कार्कीले बताए । ‘महाभारीको रूपमा फैलिएको कोभिडले खेलकुद क्षेत्र ठप्प भएको छ । यस क्षेत्रको विकास गर्ने उद्देश्यले हामीले तेक्वान्दोको टेक्निकल सेमिनर गरेका हौं,’ कार्कीले भने, ‘दुई दिने तालिम खेलाडीका लागि लाभदायी हुनेछ ।’

नेपाल आइटिएफका केन्द्रीय सदस्य तथा ब्यालकबेल्ट कमिटिका अध्यक्ष घमबहादु थापा, प्रदेश १ का उपाध्यक्ष चुर्तरलाल चौधरी, प्रदेशका उपाध्यक्ष राजेन्द्र धिमालले प्रशिक्षण दिने छन् । टेक्निकल तालिममा प्र्रदेश भरका १ सय ३५ जना पुरुष तथा महिला खेलाडीको सहभागिता रहेको छ ।