सरकारी दबाबपछि उखु किसानले पाउँन थाले पैसा

सरकारी दबाबपछि उखु किसानले पाउँन थाले पैसा
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रौतहट । रौतहटको गरुडास्थित श्री राम सुगर मिल्स लिमिटेडले किसानको खातामा पैसा पठाउन सुरु गरेको छ । विभिन्न जिल्लाका किसानहरुले काठमाडौँ केन्द्रित संघर्ष गरिरहेको र उखु उत्पादक संघ रौतहटले गरुडाको चिनी उद्योगका संचालकहरुविरुद्ध ठगी मुदा दर्ता गराएर पक्राउ पुर्जी जारी भएपछि उद्योग संचालकले उद्योगको खातामा रकम पठाएपछि किसानको खातामा उखुको मूल्य भुक्तानी सुरु गरेको हो ।

गृह मन्त्रालयले पनि किसानको पक्षमा कडाइ गरेको छ । सबैतिरबाट दबाब परेपछि उखुको मूल्य तिर्न बाध्य भएको उद्योग संचालकले किसानलाई भुक्तानीको लागि ३५ करोड रुपैया पठाएको छ । रौतहटमा करिब १८ हजार उखु किसान रहेका छन् । उद्योगले छ वर्षदेखिको करिब ४१ करोड रुपैया उखु किसानलाई तिर्न बाँकी राखेको उखु उत्पादक संघ रौतहटले जनाएको छ । गत वर्षको चैतसम्म सम्पूर्ण भुक्तानी गर्ने सम्झौता गरेको उद्योगले चर्को आन्दोलन र दबाबपछि किसानको खातामा रकम पठाउन सुरु गरेको हो ।

उद्योगले उद्योगको खाताबाट शुक्रबार साँझसम्म १६ करोड ४४ लाख ७४ हजार ७ रुपैया पठाएको छ । उद्योगले पाँच हजार तीन सय किसानको खातामा रकम पठाएको छ । ३५ करोड रुपैयामध्ये बाँकी रहेको रकम उद्योगको खातामा नै रहेको स्रोतको दाबी छ ।

किसानहरुले गरेको आन्दोलन तथा अन्तक्र्रिया र उद्योगका संचालकमाथि ठगी मुद्दा दर्ता गराउँदाको परिणामस्वरुप उखु किसानको खातामा उद्योगले शुक्रबारदेखि रकम पठाउन सुरु गरेको उखु उत्पादक संघ रौतहटका सल्लाहकार सफिन्द्र प्रसाद यादवले जानकारी गराएका छन् ।

किसानको खातामा उद्योगले रकम पठाउन थालेपछि किसानहरुमा केही उत्साह देखिएको छ । छ वर्षपछि उखुको मूल्य पाउँदा पनि किसानहरुले सन्तोष व्यक्त गरेका छन् । विभिन्न कारणले उखु किसानको रकम भुक्तानीमा ढिलाइ हुन गएकोमा श्री राम सुगर मिल्स लिमिटेडले शुक्रबार किसानसित माफी मागेको छ ।