विदेश पलायन रोक्न पूर्व सैनिकलाई ग्रीन हाउस

विदेश पलायन रोक्न पूर्व सैनिकलाई ग्रीन हाउस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

उदयपुर । उदयपुरका अवकास प्राप्त सैनिकहरुलाई विदेश पलायनबाट रोक्न नेपाली सेनाले हरित गृह (ग्रीनहाउस) निर्माण गरिदिएको छ । भुतपूर्व सैनिकहरुलाई स्वदेशमै रोजगार बनाउँदै आयआर्जनमुखी काममा लगाउने उद्धेश्यले नेपाली सेनाको ‘सिघ्र प्रभाव आयोजना’ अन्तर्गत त्रियुगा नगरपालिका–१३ असारीमा १० वटा ग्रीनहाउस निर्माण गरिएको हो ।

ग्रीनहाउसमार्फत सेवा निबृत्त सैनिकहरुले मौसमी तथा बेमौसमी तरकारी खेती गर्न सक्नेछन् । यसले आयआर्जन गर्न सहयोग पुग्ने ध्यय सेनाको छ । १० लाख रुपैंया लगानीमा निर्मित ग्रीनहाउस सञ्चालनको जिम्मा भुतपूर्व सैनिक सहकारी संस्था उदयपुरलाई दिइएको छ ।

शुक्रबार आयोजित कार्यक्रममा नेपाली सेनाको पूर्वी पृतनापति उपरथी सन्तोषकुमार ढकालले ग्रीनहाउस उद्घाटन गर्दै पूर्व सैनिक सहकारीलाई हस्तान्तरण गरे । हस्तान्तरण कार्यक्रममा उपरथी ढकालले अवकास प्राप्तपछि भुतपूर्व सैनिकलाई विदेश पलायन हुनबाट बचाउँदै स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्न स्थापित सिघ्र प्रभाव आयोजनामार्फत यो कार्यक्रम ल्याइएको बताए । ग्रीनहाउसमा मौसमी तथा बेमौसमी गरी १२ महिनै तरकारी खेती गर्न सकिने भन्दै यसले पूर्व सैनिकलाई रोजगारी र आयआर्जनमा महत्वपूर्ण सहयोग पुग्ने बताए ।

कार्यक्रममा त्रियुगा नगरप्रमुख बलदेव चौधरीले पूर्व सैनिकहरुले उदाहरणीय काम गरेको भन्दै नेपाली सेनाले गरेको यो सहयोगले उनीहरुलाई थप उर्जा मिल्ने अपेक्षा गरे । नवनिर्मित ग्रीन हाउसमा बेमौसमी तरकारी खेती गर्न थोपा सिंचाइको व्यवस्था मिलाइएको छ । ५ वटा मोटरमार्फत ट्यांकी राखेर अत्याधुनिक सिँचाई गर्ने प्रविधि जडान गरिएकाले बाह्रैकाल तरकारीमा पानी हाल्न मिल्ने छ । यसले बेमौसमी खेती फस्टाउन सहयोग पुग्ने सहकारी अध्यक्ष खड्गबहादुर चामलिङले बताए ।

उनका अनुसार सेवा निबृत्त सैनिकहरुको सामुहिक पहलमा भुपू सैनिक सहकारी संस्था सञ्चालनमा ल्याएपछि २०७२ माघ २२ गतेदेखि असारीमा ५ बिगाहा १० कठ्ठा क्षेत्रफल जमिन भाडामा लिएर सामुहिक व्यवसायिक गाई पालन सुरु गरिएको छ ।