ग्रिड कनेक्टेड सोलार आयोजनाबाट ८.५ मेघावाट बिद्युत उत्पादन सुरु

ग्रिड कनेक्टेड सोलार आयोजनाबाट ८.५ मेघावाट बिद्युत उत्पादन सुरु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बुटवल । निजी क्षेत्रबाट संचालित देशकै ठुलो ग्रिड कनेक्टेड सोलार पावर आयोजनाले व्यवसायिक बिद्युत उत्पादन थालेको छ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ८.५ मेघावाटको ग्रिड कनेक्टेड बुटवल सोलार पावर प्रोजेक्टको काम सम्पन्न गरी व्यवसायिक उत्पादन थालेको हो । रुपन्देहीको मणिग्राममा रहेको सोलार आयोजनाको काम सम्पन्न गरी कात्तिक २५ देखि व्यवसायिक रुपमै बिद्युत उत्पादन भइरहेको कम्पनीका कार्यकारी निर्देशक कुबेर नेपालले बताए ।कोरोना कहर र लकडाउनका बाबजुद पनि बिच कम्पनीले आयोजना सुरु गरेको एक बर्षमै काम सम्पन्न गरी बिद्युत उत्पादन सुरु गरेको हो ।

तिलोत्तमा नगरपालिका– ६ मा २६ बिगाह क्षेत्रफलमा ३ सय ३० वाट क्षमताका ३२ हजार सोलार पाता बिछ्याइएको छ । जसबाट ८.५ मेघावाट बिद्युत उत्पादन भइरहेको छ । सोलार पाताबाट उत्पादित डीसी उर्जालाई एसीमा कन्भर्ट गर्न ८ सय ५० किलोवाट क्षमताका १० वटा इन्र्भटर जडान गरिएको छ । इन्भर्टरबाट आएको बिद्युतलाइ ८.५ एमबीएको ट्रान्सफर्मरले ६९० भोल्टको बिद्युतलाई ३३ के.भिमा अपग्रेट गरी राष्ट्रिय प्रशारण लाइनमा जोडिएको कम्पनीका कार्यकारी निर्देशक नेपालले बताए ।

उत्पादित बिजुली प्राधिकरणले प्रति युनिट ७ रुपैँया ३० पैसाका दरले खरीद गर्ने गरी २५ बर्षका लागि खरीद सम्झौता (पिपिए) गरेको छ । बार्षिक १ करोड ४५ लाख युनिट बिद्युत आपुर्तिको ग्यारेन्टि सहित प्राधिकरणसँग सम्झौता भएको छ।  यो प्लान्टले दैनिक करिब ८÷९ घण्टा बिद्युत उत्पादन गरिरहेको आयोजनाका इन्जिनीयर कुशल न्यौपानेले बताए । ७१ करोड ६५ लाख रुपैयाँको लागतमा निर्माण भएको आयोजनाबाट बार्षिक १० करोड आम्दानी गर्ने लक्ष्य छ ।