प्रदेश १ लाई सडक मानवमुक्त बनाइने

प्रदेश १ लाई सडक मानवमुक्त बनाइने
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विराटनगर । प्रदेश १ लाई बैशाख भित्र सडक मानवमुक्त प्रदेश घोषणा गर्ने तयारी थालिएको छ ।  सामाजिक विकास मन्त्रालयले शनिबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बैशाख भित्र प्रदेशलाई सडक मानवमुक्त प्रदेश घोषणा गर्न अभियान सुरू गरिएको जानकारी दिएको हो ।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले राष्ट्रिय अभियान अन्तर्गत पुस ७ गतेदेखि प्रदेश १ का झापा मोरङ र सुनसरीका सडकमा आश्रीत व्यक्तिहरूलाई उद्धार गर्ने काम थालिने छ । प्रदेश १ सरकारले तीन जिल्लाका सडकमा आश्रय लिइरहेका (सहयोगापेक्षी)व्यक्तिहरुको उद्धार गर्ने काम

११ गते भित्रमा सक्नो योजना बनाएको छ ।  मानव सेवा आश्रमसँगको सहकार्यमा पुस ७ र ८ गते तीन जिल्लाका सडक बालबालिका र पुस ९ देखि ११गते सम्म मानसिक रोगी, असहायहरुको उद्धार गरिने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पुर्वपश्चिम राजमार्ग केन्द्रित राष्ट्रिय कार्यक्रम अन्र्तगत पहिलो चरणमा झापा,मोरंग र सुनसरीका सहयोगापेक्षी मानवहरुको उद्धार गर्न लागिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । अभियान अन्र्तगत उद्धार गरिसकेपछि  ३ जिल्लाका स्थानीय तहहरुले सडकआश्रित मानवमुक्त जिल्ला घोषणा गर्ने  छन्  । १४ वटै जिल्लाका स्थानीय तहले   सडकमाआश्रित मानवमुक्त जिल्ला घोषणा गरेपछि प्रदेशलाई आगामी बैशाख मसान्त भित्रमा घोषणा गरिने मन्त्री घिमिरेले  बताए ।

राजमार्ग केन्द्रित कार्यक्रमपछि प्रदेश १ का अन्य जिल्लामा अभियान शुरु गरिने उनले बताए । घिमिरेका अनुसार उद्धार गरिएका बालबालिकालाई सुनसरी इटहरीको भ्वाइस अफ चिल्ड्रेन (भीओसी), अपाङ्गता भएकाहरुलाई झापाको खगेन्द्र नवजीवन केन्द्र र अन्यलाई मानव सेवा आश्रम विराटनगरमा राखिने छ । पुस ८ गतेसम्म झापा, मोरङ र सुनसरीका सवै स्थानीय तहहरुले सहयोगापेक्षी मानवहरुको खोजी तथा सूचना संकलन गरि सामाजिक विकास मन्त्रालयलाई जानकारी गराउनुपर्ने छ । मानव सेवा आश्रमले पुस ७ देखि माघ ७ गतेसम्म राष्ट्रिय उद्धार कार्यक्रम (मेची–महाकाली) सञ्चालन गर्दैछ । अभियानको प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्ने कार्यक्रम रहेको मानव सेवा आश्रम प्रदेश १ का संयोजक नवराज केसीले जानकारी दिए ।