बृद्धभत्ता दुरुपयोग रोक्न चौदण्डीगढी नगरको मृतक परिवारलाई सहयोग

बृद्धभत्ता दुरुपयोग रोक्न चौदण्डीगढी नगरको मृतक परिवारलाई सहयोग
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

उदयपुर । मृत्यु भईसकेका बृद्धबृद्धाको नाममा भईरहेको सामाजिक सुरक्षाभत्ता (बृद्धभत्ता) दुरुपयोग रोक्न उदयपुरको चौदण्डीगढी नगरपालिकाले मृत्यु संस्कार (काजक्रिया) गर्न १० हजार रुपैंया सहयोग गर्दै आएको छ । मृत्युदर्ता नगर्दा लगत कट्टा नभएपछि वर्षेनी बृद्धभत्तावापत करोडौं रकम दुरुपयोग हुने क्रम रोक्न नगरपालिकाले ६० वर्ष माथिका बृद्धबृद्धाको निधनमा अन्तिम संस्कार खर्चवापत सहयोग दिने गरेको हो ।

               कुनै व्यक्तिको जन्म, मृत्यु, बिबाह, बसाईसराई र सम्बन्ध विच्छेदजस्ता व्यक्तिगत घट्ना घटेको ३५ दिनभित्र सम्बन्धित वडा कार्यालयमा दर्ता गर्नुपर्ने प्रावधान बेवास्ता गर्दा वर्षेनी फर्जि व्यक्तिका नाममा सामाजिक सुरक्षाभत्तावापत करोडौं रुपैंया दुरुपयोग हुँदै आएको छ । त्यस्तो दुरुपयोग चौदण्डीगढीमा पनि हुने जोखिम रोक्न बृद्धबृद्धाको निधनमा मृतक परिवारलाई अन्तिम संस्कार खर्च दिने कार्यक्रम ल्याएको नगरप्रमुख खगेन्द्र राईले बताए ।

               तर, सो रकम प्राप्त गर्न घट्नाको ३५ दिनभित्रै मृत्यु दर्ता गरेको प्रमाणपत्र नगरपालिकामा अनिवार्य पेश गर्नुपर्ने प्रावधान राखिएको मेयर राईले बताए । ६० वर्षमाथिका जुनसुकै जेष्ठ नागरिकको निधन भएमा मृत्यु दर्ता प्रमाण पेश गरेकै दिन परिवारलाई अन्तिम संस्कार खर्चवापत १० हजार भुक्तानी दिने गरेको मेयर राईले बताए । यसो गर्दा फर्जि बृद्धभत्तामा राज्यकोषको सम्पत्ति दुरुपयोग हुन नपाउने राईको विश्वास छ ।

               मेयर राईका अनुसार यो कार्यक्रमले बृद्धभत्ताको दुरुपयोग रोक्ने, गरिव तथा बिपन्न वर्गका परिवारलाई अन्तिम संस्कार (काकक्रिया) उतार्न सहयोग पुग्ने तथा व्यक्तिगत घट्ना दर्ताबारे नगरबासीमा जनचेतना जगाउँने ३ खाले फाईदा पुगेको छ । ‘कतिपय गरिव तथा विपन्न परिवारमा जुठो (मृत्यु) पर्दा ऋण काढेर काजक्रिया गर्नुपर्ने बाध्यता छ’ मेयर राईले भने ‘त्यस्ता वर्गका लागि १० हजारले ठूलो सहयोग पुगेको देखियो । उता मरेको मान्छेको नाममा जाने बृद्धभत्ता दुरुपयोग पनि रोकियो भने यता व्यक्तिगत घट्ना दर्ताबारे जनचेतना पनि बढाउँछ ।’

               वर्षौंअघि मरिसकेको मान्छेको नाममा राज्यको करोडौं रकम खर्च भईरहेको र अर्कातिर त्यस्तो रकम खाएर अख्तियार दुरुपयोगको आरोप र कारबाही कर्मचारी तथा जनप्रतिनिधले भोग्नु नपरोस् भनेर चौनपाले यस्तो कार्यक्रम अघि सारेको मेयर राईले बताए । यो कार्यक्रमले चौदण्डीगढीमा फर्जि बृद्धभत्तावापत रकम दुरुपयोग हुने क्रम रोकिएको उनले बताए ।    

               कार्यक्रम लागु गरेको पहिलो वर्ष ०७६÷७७ मा १ सय २९ जना मृतक परिवारलाई १० हजारका दरले १२ लाख ९० हजार भुक्तानी गरिएको नगरपालिकाका लेखापाल अमर थापामगरले बताए । उनका अनुसार चालुवर्ष हालसम्म मृतक ५१ जनाको परिवारलाई ५ लाख १० हजार वितरण गरिसकिएको छ ।

               यो कार्यक्रमसँगै नगरपालिकाका प्रत्येक वडामा फर्जि सामाजिक सुरक्षाभत्तावापत कतै खर्च भईरहेको छछैन भनेर सुक्ष्म छानविन गर्दै आएको जनाएको छ । पछिल्लो समय त्यस्तो अवस्था कतै नभेटिएकाले फर्जि बृद्धभत्तावापत रकम दुरुपयोग हुने क्रम पूर्णरुपमा रोकिएको नगरपालिकाले जनाएको छ ।

               त्यसैगरी नगरपालिकाले आगलागीबाट क्षति पुग्ने नगरबासीलाई पनि आर्थिक सहयोग दिदै आएको छ । नगरका कुनै पनि अग्निपीडितलाई खाना र बासको व्यवस्था गर्न तत्काल राहत दिने गरेको नगरपालिकाले क्षतिका आधारमा घर पुननिर्माणमा आर्थिक सहयोग गर्ने गरेको उपमेयर रीताकुमारी चौधरीले बताईन् । उनका अनुसार अग्निपीडितलाई भने नगरले वर्षेनी सहयोग गर्दै आएको छ ।