आगलागीबाट एक बालकको मृत्यु

मोरङ । विराटनगरको झटियायीमा राति भएको आगलागीमा परी एक बालकको मृत्यु भएको छ ।
विराटनगर–१४ स्थित झटियायीका राजेश दास (तत्मा)को घरमा आगलागी हुँदा उनका एक छोरोको मृत्यु भएको छ भने श्रीमती र अर्का छोरो घाइते भएको प्रहरीले जनाएको छ ।
राति साढे १२ बजेतिर भएको आगलागीमा दासका १४ वर्षीय छोरा रविन दासको मृत्यु भएको र ३२ वर्षीय श्रीमती इन्दुमती दास र ७ वर्षीय छोरा किसन दास घाइते भएको इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए ।
‘राति करिब साढे १२ बाँस र जस्तापाताको छाना भएको राजेश दासको घरमा आगलागी भएको हो,’ प्रहरी निरीक्षक थापाले भने, ‘आगलागी हुँदा जलेर १४ वर्षका छोराको मृत्यु भएको छ भने श्रीमती र ७ वर्षका छोरा घाइते भएका छन् ।’ घर नजिक घुर बालेर सुतेको अवस्थामा आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखेए पनि घटनाको थप सुक्ष्म अनुसन्धान थालिसकेको प्रहरी निरीक्षक थापाले बताए ।
घाइते आमाछोराको कोसी अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । आगलागीबाट करिब ४ लाख रुपैयाँ बराबरको क्षति भएको र रानी प्रहरी, बुधनगरका प्रहरी टोली, वारुणयन्त्र तथा स्थानीयको सहयोगमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्