कागजपत्र गायब गरेर महेन्द्र क्याम्पसको करोडौंको जग्गा हडप्न चलखेल

कागजपत्र गायब गरेर महेन्द्र क्याम्पसको करोडौंको जग्गा हडप्न चलखेल
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धरान । झण्डै चार दशकपछि मोही हक दाबी गरिएको महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गाको जोतभोगबारे गरिएको सर्जमिन मुचुल्काको सक्कल प्रति नै गायब भएको पाइएको छ ।

भुमिसुधार तथा मालपोत कार्यालय इनरुवाले मोही हक दाबी गरेको जग्गामा जोतभोग कस्ले गरिहेको छ भनेर सर्जमिन मुचुल्का गरेर पठाउन आग्रह गरेको थियो । सोही आग्रह अनुसार धरान उपमहागनरपालिकाले २०७६ पुष १६ गते सर्जमिन मुचुल्का गरेको थियो भने १७ गते नै भुमि सुधार कार्यालयलाई सक्कल प्रति पठाएको जनाएको थियो । तर, भुमिसुधार तथा मालपोत कार्यालयको मुद्दाको मिसिलमा उक्त सर्जमिन मुचुल्काको सक्कल नभेटिए पछि भुमाफियाहरुको चलखेल भएको आशंका गरिएको छ । क्याम्पस प्रशासन र विद्यार्थीहरुले मुद्दाबारे ताकेता गर्दा मिसिलमा महत्वपुर्ण प्रमाणकोरुपमा रहेको सर्जमिन मुचुल्का नै नभएको पाएपछि मात्र यो रहस्य खुलेको हो ।

भुमि सुधार तथा मालपोत कार्यालयमा पठाएको सर्जमिन मुचुल्काको सक्कल नै हराएको पाएपछि क्याम्पस प्रशासनले छानबिन गर्न र प्रतिलिपि कपी पठाइदिन आग्रह गर्दै उपमहानगरपालिकालाई पत्राचार गरेको छ । सोही पत्र अनुसार उपमहानगरपालिकासँग भएको मुचुल्काको प्रतिलिपि क्याम्पसमार्फत तीन दिनअघि भुमि सुधार कार्यालयमा पुर्याएको छ । ‘क्याम्पसको जग्गाको मुद्दा के भइरहेको छ भनेर भुमि सुधार कार्यालय गएर बुझ्दा मात्र सर्जमिन मुचुल्का मिसिलमा नभएको थाह पायौं । किन छैन भनेर सोध्दा कार्यालयले आइपुगेकै छै भन्यो,’विद्यार्थी सुुजन खत्रीले भने,‘नगरपालिकाबाट प्रतिलिपी प्रति लिएर पुर्यायौं, क्याम्पसको जग्गा हड्प्ने गिरोहकै चलखेलबाट सक्कल गायब गरिएको हुनुपर्छ ।’

२०३४ सालमा किनेको साविक धरान ९ (क) हाल धरान ११ स्वास्तिक चोकमा पर्ने कित्ता नम्बर २६६ को १७ कट्ठा १८ धुर जग्गा श्यामगोविन्द श्रेष्ठबाट क्याम्पसले किनेको थियो । उक्त जग्गाको स्रेस्तामा मोही उल्लेख भएका डम्बरबहादुर घिमिरेको मृत्यु भइसकेको छ । मोही घिमिरेलाई त्यसबेला नै चित्त बुझाएर जग्गा किनबेच गरिएको भएपनि लगतकट्टा नगरिदा अहिले भुमाफियाहरुले जग्गा हड्प्न उनका छोरा यज्ञबहादुर क्षेत्रीलाई अघि सारेका हुन् । उक्त जग्गाको मुल्य अहिले करोडौं रुपैया पर्छ ।

यज्ञबहादुरले बुबाको नाममा भएको मोही हक नामसारीको लागि २ बर्षअघि भुमिसुधार तथा मालपोत कार्यालय इनरुवामा निवेदन दर्ता गरेका थिए । उनको निवेदन परेपछि कार्यालयले २०७५ चैत २२ गते धरान उपमहानगरपालिकालाई पत्राचार गरेर जोतभोग कस्ले गरिरहेको छ भनेर सर्जनिम मुचुल्का गरि पठाइदिन आग्रह गरेको थियो । सोही आग्रह अनुसार २०७६ पुष १६ गते सरोकारवाला एवं स्थानीयको उपस्थितिमा जोतभोगको सर्जमिन मुचुल्काको सक्कल नै हराएको हो । क्याम्पपस प्रमुख दामोदर भण्डारीले सर्जमिन मुचुल्काको सक्कल प्रति नै हराउनु रहस्यमय भएको बताए ।