नेकपाको बैठकले महाधिवेशन आयोजक समिति घोषणा, सात प्रदेशमा कार्यकर्ता भेला गर्ने

नेकपाको बैठकले महाधिवेशन आयोजक समिति घोषणा, सात प्रदेशमा कार्यकर्ता भेला गर्ने
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले साबिकको ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेर ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरेका छन् ।

त्यसमा १९७ जना पछि थप गर्ने उनले बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकमा सुनाएका छन् ।

 प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले पार्टीको महाधिवेशन २०७८ मंसिर २ गतेदेखि ७ गतेसम्म गर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा राखेका छन् । बैठकले ओलीको प्रस्ताव अनुमोदन गरेको केन्द्रीय सदस्य माधव ढुंगेलले जानकारी दिए ।

यसअघि नेकपाको महाधिवेशन यही वर्षको चैतमा गर्ने निर्णय गरेको थियो ।

बैठकले सातै प्रदेशमा कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ । दुई दिनभित्रै सबै प्रदेशमा भेला गर्ने गरी वक्ता र समन्वयकर्ता तोकिएका छन् । सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदीप ज्ञवाली र कर्ण थापालाई खटाइएको छ ।

त्यस्तै कर्णाालीमा शंकर पोखरेल, यमलाल कँडेललगायतका नेता खटिएका छन् भने लुम्बिनीमा खिमलाल भट्टराईले भेलाको संयोजन गर्ने भनिएको छ ।

गण्डकीमा वक्ताका रुपमा टोपबहादुर रायमाझी तोकिएका छन् भने वागमतीको संयोजन आनन्द पोखरेलले गर्दैछन् । प्रदेश २ को संयोजन सुमन प्याकुरेलले गर्ने केन्द्रीय कमिटीमा प्रस्ताव पारित भएको छ ।

बैठकले अर्को केन्द्रीय कमिटी बैठक बिहीबार बस्ने पनि निर्णय गरेको छ ।