बालुवाटारमा बादलले भने प्रतिक्रान्तिको खतराबाट देशलाई जोगाउन ओलीलाई साथ

बालुवाटारमा बादलले भने प्रतिक्रान्तिको खतराबाट देशलाई जोगाउन ओलीलाई साथ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । पार्टी विभाजनका क्रममा मौन बसेका नेकपा नेता रामबहादुर थापा बादल अन्तत: प्रचण्ड-नेपाल समूहलाई चकित बनाउँदै ओली समूहमा लागेका छन्। करिब ३ दिनको मौनतापछि बुधबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेपछि बादल बिहीबार बालुवाटार पसेका हुन्।

बालुवाटारमा जारी नेकपा केपी ओली समूहको बैठकमा बादलले सम्बोधन समेत गरेका छन् । बैठकलाई सम्बोधन गर्दै बादलले मुलुकलाई प्रतिक्रान्तिको खतराबाट जोगाउन मूल नेतृत्व (केपी ओली)लाई साथ दिनुपरेको बताएका छन् ।

‘क्रान्तिको उपलब्धिको रक्षा गर्न प्रतिक्रान्तिकारी अवस्थाबाट जोगिनुपर्ने अहिलेको आवश्यकता हो’, नेता बादलले भने, ‘प्रतिक्रान्तिलाई सहयोग गर्न हामीभित्रका केही नेताहरुले गुटबन्दी गर्दै चोइटिएर जान खोजेका छन्। हामीले मध्यावधि निर्वाचनबाट दुईतिहाइको सदन निर्माण गर्छौँ ।’

संसद् विघटन गर्ने सरकारको निर्णय क्रान्तिकारी निर्णय भएको समेत नेता बादलले बताएका छन् । उनले भने, ‘मिल्न खोजेदेखि टुक्रयाउन खोज्नेहरू सफल हुन खोज्दैछन्। त्यसलाई प्रचण्ड–नेपाल कमरेडहरूले सहयोग गर्नुभयो।’

प्रचण्ड-माधव नेपाल समूहले प्रतिक्रान्तिलाई सघाउने निर्णय गर्दै अघि बढेको भन्दै बादलले निकै सोच विचार गरेर मूल नेतृत्व जोगाउन यस्तो निर्णय लिएको बताएका छन्।

प्रतिनिधिसभा पुनर्गठन अब पश्चतगामी कदम हुने बताउँदै उनले हालको अवस्थामा चुनावमा जानु नै अग्रगमन हुने उल्लेख गरे। पार्टीको विवादमा कतै नखुलेका उनी पछिल्लो समय दुवै पक्षका बैठकमा सहभागी थिएनन्। बादल आजबाट ओलीको पक्षमा खुलेका हुन् । बैठकमा बादलको सम्बोधनअघि नयाँ केन्द्रीय सदस्यहरुलाई प्रधानमन्त्री ओलीले शपथग्रहण गराएका थिए।