संसद पुर्नस्थापना हुँदैनः मुख्यमन्त्री गुरुङ

संसद पुर्नस्थापना हुँदैनः मुख्यमन्त्री गुरुङ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका गण्डकी प्रदेश ईञ्चार्ज पृथ्वी सुब्बा गुरुङले संसद पुर्नस्थापना कुनैपनि हालतमा नहुने ठोकुवा गरेका छन् । नेकपा ओली पक्ष निकट राष्ट्रिय युवा संघ गण्डकी प्रदेशले शुक्रबार पोखरामा आयोजना गरेको गण्डकी प्रदेश स्तरिय ‘बृहद युवा भेला’लाई सम्बोधन गर्दै उनले संसद पुर्नस्थापना हुनै नसक्ने बताएका हुन् । अदालतमा बिचाराधीन मुद्धामा मैले बोल्न त नहुने हो,‘उनले भने,‘तर मलाई के लाग्छ भने अन्यथा अर्थ नलागोस् तर संसद पुर्नस्थापन कुनैपनि हालतमा हुँदैन ।’

गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका ओली पक्षीय नेता गुरुङले बहुमत प्राप्त प्रधानमन्त्रीलाई काम गर्ने वातावरण भएन भने नया जनादेशमा जाने अधिकार भएको दाबी गरे । झण्डै ६४ प्रतिशत मत प्राप्त गरेको प्रधानमन्त्रीलाई घेराबन्दी गरेर काम गर्न दिइएन,उनले भने,‘आफ्नै पार्टीबाट घेराबन्दी गरियो, काम गर्नै दिइएन, यस्तो बेलामा नया जनादेशमा जानुको विकल्प थिएन, त्यसैले यो बैधानिक पनि छ ।’ संसद विघटनलाई अलोकतान्त्रिक नहुने जिकिर गर्दै उनले अगाडि भने,‘यो कदम कसरी अवैधानिक हुन्छ ? कसरी अलोकतान्त्रिक र प्रतिगामी हुन्छ ? संसद विघटन गरेर राजालाई बुझाएको हो ? संसदको अधिकार खोसेर प्रधानमन्त्रीले गोजीमा राखेको हो ? ।’ झण्डै दुई तिहाई मत प्राप्त सरकारले काम गर्न नपाएपछि जनतालाई भगवान मान्दै निर्वाचन घोषणा गर्नु सबैभन्दा लोकतान्त्रिक र संबैधानिक भएको उनको जिकिर थियो ।