निम्तो बाड्दै पुर्वमा पुगे सौराहाका पर्यटन व्यवसायी

निम्तो बाड्दै पुर्वमा पुगे सौराहाका पर्यटन व्यवसायी
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धरान । कोरोना महामारीले थला परेको पर्यटन क्षेत्रलाई चलायमान बनाउने उद्देश्यले चितवनको सौराहाका व्यवसायीहरु देश दौडाहामा निस्केका छन् ।

चितवनका पर्यटकीय गन्तव्यहरुको प्रचार तथा आन्तरिक पर्यटकहरुलाई घुम्न आउने निम्तो बाँड्दै उनीहरु प्रदेश नं १ आइपुगेका छन् । क्षेत्रीय होटल संघ चितवनको नेतृत्वमा आएका व्यवसायीहरुले शुक्रबार धरान र विराटनगरमा कार्यक्रम गर्दै सौराहा घुम्न आह्वान गरेका छन् । कोरोना महामारी र लकडाउनले थलिएको पर्यटनलाई उठाउनको लागि आन्तरिक पर्यटकहरुलाई निमन्त्रणा गर्दै पुर्व आएको संघका अध्यक्ष दिपक भट्टराईले बताए ।

संघले सौराहा घुम्न आउदा होटल र रेष्टुरेष्टहरुलाई २० देखि ४० प्रतिशतसम्म छुट दिने जनाएको छ । अन्य पर्यटकीय गतिविधिहरुमा पनि छुट दिने संघका अध्यक्ष भट्टराईले बताए । यो अफर कोभिडको अवसर अवधिभर रहने पनि उनले बताए । उनका अनुसार सौराहाका होटलहरु गएको असोजदेखि सञ्चालनमा आएको छ । स्वास्थ्य प्रोटोकोल कायम गर्दै होटलहरु चलेको र अब पुर्णरुपमा सुरक्षित छ भन्ने आत्मविश्वास भएकोले आन्तरिक पर्यटकहरुलाई निमन्त्रणा गर्दै देश दौडाहामा अभियान शुरु गरेको उनले बताए ।

संघले विराटनगरमा चितवनका पर्यटकीय गतिविधिहरु समेटिएको वृत्तचित्र प्रर्दशन गरेको छ । विगतमा भारतीय पर्यटकहरुलाई लक्षित गरेर भारतको विभिन्न सहरहरुमा मात्र संघले यस्तो कार्यmत्रम गर्ने गरेको थियो । आन्तरिक पर्यटकहरुलाई लक्षित गरेर संघले पहिलो पटक अभियान गरेको निवर्तमान अध्यक्ष सुमन घिमिरेले बताए ।

पछिल्लो समय सौराहामा पारीवारिक घुमघाम गर्न आन्तरिक पर्यटकहरु आउन थालेको व्यवसायीहरुको भनाई छ । लामो समय लकडाउनले घरमै थुनिएकाहरु सपरिवार घुम्न आइरहेको कोषाध्यक्ष माधव दवाडीले जानकारी दिए । कोरोना महामारीले पर्यटन गतिविधि ठप्प हुँदा सौराहाका पर्यटन व्यवसायीहरुले मात्र दैनिक ५० लाख नोक्सानी खेप्नु परेको संघले जनाएको छ । चितवन जिल्लाभरिका व्यवसायीहरुको नोक्सानी दैनिक ८० लाख हुने कोषाध्यक्ष दवाडीले बताए ।