प्रदेश १ मा मुख्यमन्त्री विरुद्ध माधव-प्रचण्ड समुहको अबिश्वास प्रस्ताव दर्ता, क–कसले गरे हस्ताक्षर (सूची सहित)

विराटनगर । प्रदेश १ का मुख्यमनत्री शेरधन राई विरुद्ध प्रदेश १ को प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेशसभामा ३७ जना सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता भएको हो ।
अविश्वासको प्रस्ताव दर्ता भएसँगै प्रदेश १ मा सत्ता परिवर्तनको खेल सुरू भएको छ । माधव –प्रचण्ड पक्षले नेकपाका सांसद भीम आचार्यलाई मुख्यमन्त्री प्रस्ताव गर्दै प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेको छ । निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वो प्रस्तावक छन् भने प्रदेश सभा सदस्य लक्षुमण तिवारी समर्थक छन् । अविश्वासको प्रस्ताव दर्ता गर्दै प्रस्तावक आङ्वोले सरकार अल्पमतमा परिसकेकाले मुख्यमन्त्री शेरधन राईले राजनीनामा दिनु उपयुक्त हुने बताएका छन् ।
अबिश्वासको प्रस्ताव दर्ता गर्ने समुले भीम आचार्यलाई मुख्यमन्त्री उम्मेदवार बनाएको छ । प्रदेश १ को प्रदेश सभामा ९३ जना सांसद छन् । जसमा नेकपाका मात्रै ६७ जना सांसद छन् । जसमध्ये पूर्व एमालेका ५१ र पूर्व माओवादी तर्फका १६ सांसद छन् । यस्तै नेपाली कांग्रेसका २१ र अन्य साना दलका ५ जना सांसद छन् । मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन ३७ जना सांसदले हस्ताक्षर गरेका छन् । प्रदेश १ मा बहुमत पु¥याउन ४७ सांसद आबश्यक छ । नेकपाका दुवै पक्षले एकल बहुमत पु¥याउने दाबी गरिरहे पनि कसैको एकल बहुमत पुग्ने अवस्था भने देखिंदैन । दुबै पक्षको बहुमत नपुगे प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसको समर्थन निर्णयक हुने देखिन्छ ।
अविश्वासको प्रस्तावमा क–कसले गरे हस्ताक्षर
प्रदेश १ को संसदमा दर्ता भएको अविश्वासको प्रस्तावमा पूर्व माओवादी र पूर्व एमालेका माधव नेपाल, प्रचण्ड पक्षका ३७ सांसदहरूले हस्ताक्षर गरेका छन् । अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेहरूमा इन्द्रबहादुर आङ्बो, लछुमन तिवारी, जीवन घिमिरे, तुलसीप्रसाद न्यौपाने, विजयकुमार विश्वास, जसमाया गजमेर (विश्वकर्मा), लीलाबल्लभ अधिकारी छन् । यस्तै मोहनकुमार खड्का, कुसुमकुमारी श्रेष्ठ, सावित्री जोशी, उमिता विश्वकर्मा, कुलप्रसाद साम्बा, सीतादेवी थेवे (जबेगु), पूर्णप्रसाद राजवंशी, खिनु लङ्वा लिम्बू, नारायणबहादुर मगर, झलकबहादुर मगर, उपेन्द्रप्रसाद घिमिरे, श्रीप्रसाद मैनाली, गोपालचन्द्र बुढाथोकी र सरिता थापा छन् । सांसद पदमकुमारी गुरुङ, राजेन्द्रकुमार राई, धिरेन्द्र शर्मा, रामकुमार राई, टंक आब्बुहाङ (लिम्बू), होमकुमारी साँवा, उषाकला राई, कला घले, भीमप्रसाद आचार्य, सौभाग्यवतीदेवी राई किरात, गणेशकुमार काम्वाङ, सावित्राकुमारी रेग्मी, वसन्तीदेवी यादव, सनिताकुमारी चौधरी, यशोदा अधिकारी र पूर्णप्रसाद राईले पनि प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

प्रतिकृया दिनुहोस्