मुख्यमन्त्रीद्वारा ओली पक्षिय मन्त्रीलाई बर्खास्त

मुख्यमन्त्रीद्वारा ओली पक्षिय मन्त्रीलाई बर्खास्त
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले केपी ओली पक्षिय भौतिक योजना तथा विकास मन्त्री पठान सिंह वोहरालाई बर्खास्त गरेका छन । संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्रीले मंगलवार मन्त्री वोहरालाई पदमुक्त गरेको जानकारी प्रदेश प्रमुखलाई लेखेर पठाइएको उनका स्वकिय सचिव शिव ओलीले बताएका छन ।

डडेल्धुरावाट निर्वाचित पठान सिंह वोहरा सुदूरपश्चिम प्रदेश सरकारमा केपी ओली पक्षवाट मन्त्री भएका हुन । काठमाण्डौमा रहेका मन्त्री पठान सिहं वोहरालाई मुख्यमन्त्री भट्टले मंगलवार बिहान मात्र आफै फोन गरेपनि मन्त्रीवाट पदमुक्त गर्नेवारे कुनै कुरा नगरेको मन्त्री वोहराले बताए । शुरुमा कहिले आउनु हुन्छ, भनेर सोधे,त्यसपछि राजनीतिक गतिबिधी के भैराछ,तपाई कता तिर हो भनेर सोधे । पदमुक्त गर्ने बिषयमा कुनै कुरो नै गर्नुभएन ।’ मुख्यमन्त्रीले पदमुक्त गर्न वाध्य हुदै छु भनेर भन्नुपर्नेमा कुनै छनक समेत नदिएको उल्लेख गर्दै मिडियावाट मात्र आफूले पदमुक्त भएको थाहा भएको मन्त्री बोहोराले बताए । मन्त्री वोहराले आफूले गरेको कामको जनताले मुल्यांकन गरेको र अहिले राजनीतिक प्रतिसोधका कारण पदमुक्त गरेकोलाई स्वभाविक रुपमा लिएको प्रतिक्रिया दिएका छन ।

सात जना मन्त्री रहेको सुदूरपश्चिम सरकारमा मुख्यमन्त्री सहित ३ जना माओवादी, ३ जना माधव पक्ष र वोहरा केपी ओली पक्षका थिए । अहिले पार्टी बिभाजन भएपपछि मुख्यमन्त्री सहित ५ जना प्रचण्ड–माधव पक्षमा छन । माओावादी कोटावाट मन्त्री बनेका आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहरालाई ओली पक्षले केन्द्रिय सदस्यमा मनोनयन गरेका छन । ओली पक्षले आफूतिर खुलिसकेका भनिएका मन्त्री वोहरालाई तान्न प्रचण्ड माधव पक्षले प्रयास जारी राखेका छन । प्रचण्ड माधव पक्षमा रहेका स्थाई कमिटी सदस्य भीम रावलको गृह जिल्ला अछाम निर्वाचन क्षेत्र भएकाले नेता रावलले उनलाई तान्न बढी प्रयास गरेको बुझिएको छ । सोमवार पनि नेता रावलले मन्त्री वोहरालाई भेटेर आफ्नो पक्षमा लाग्न आग्रह गरेको बिशेष श्रोतले बताएको छ । मन्त्री वोहराले आफू अहिले सम्म दुवै पार्टी एकता हुनुपर्छ भन्ने पक्षमा रहेको बताए ।‘अहिले सम्म पार्टी एकता हुनुपर्छ भन्ने मेरो धारणा छ, एकताकालागी नेतृत्वलाई दवाव दिनुपर्छ भन्ने हो’उनले भने । एकता नै भएन भने कानुनी आधार समेत हेरेर केहि दिनमा निर्णय लिने उनको भनाई छ । ओली पक्षले केन्द्रिय सदस्य मनोनयन गरेकोमा पनि उनले कुनै प्रतिक्रिया जनाएका छैनन् ।‘नेकपाको केन्द्रिय सदस्य बनाउदाँ त्यो ठिक छ, अर्को पार्टीको पो हुनु भएन’उनको प्रतिक्रिया थियो ।