मर्यादा बिर्सेर प्रधानमन्त्री ओलीविरुद्ध मुख्यमन्त्री शाही सडकमा

मर्यादा बिर्सेर प्रधानमन्त्री ओलीविरुद्ध मुख्यमन्त्री शाही सडकमा
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

वीरेन्द्रनगर । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले असंवैधानिक ढंगले संसद् विघटन गरेको भन्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सडक आन्दोलनमा निस्केका छन् । प्रचण्ड–माधव नेपाल समूहले मंगलबार देशभरि गरेको विरोध कार्यक्रमअन्तर्गत मुख्यमन्त्री शाही सडक आन्दोलनमा उत्रिएका हुन् ।

नेकपाका कालीकोट जिल्ला इन्चार्जसमेत रहेको मुख्यमन्त्री शाही मन्त्रालयको कामकाज छाडेर कालीकोट पुगेका थिए । मुख्यमन्त्री शाही कालीकोटमा निकालिएको ¥यालीमा सर्वसाधारणसँगै सडकमा निस्केका थिए । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले प्रधानमन्त्री ओलीको कमदको चर्को आलोचना गरेका छन् । प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर मुलुकलाई संकटमा पारेको उनको आरोप छ । गरिबविरुद्धको शासन व्यवस्थासँग लड्दा उहाँ त्यस लडाइँ विरुद्धमा प्रधानमन्त्री भएको स्मरण गर्दै मुख्यमन्त्री शाहीले भने ।

प्रधानमन्त्री ओली व्यक्तिगत निहीत स्वार्थको पछाडि लागेको भन्दै उनले बालुवाटारले त्यसलाई सच्याउनु पर्ने बताए । तानाशाही प्रवृति देखाए जनताले त्यसको प्रतिकार गर्ने उनको भनाइ छ । अदालत, सेना, पुलिस देखाएर नेता तथा कार्यकर्तालाई डर त्रासमा प्रधानमन्त्री ओलीले राखेको उनले जनाए । संघीय व्यवस्थाका विपक्षीमा बोल्न व्यक्ति प्रधानमन्त्री ओली भएको भन्दै उनले समावेशी, समावेशीताको आधार ओलीले अस्वीकार गरेको बताए ।

यता कतिपयले भने प्रदेशको कार्यकारी व्यक्ति मुलुकको कार्यकारीको विरुद्धमा सडकमै उत्रिनु राजनीतिक संस्कार नभएको बताएका छन् । प्रदेशको कार्यकारी व्यक्ति आफ्नो जिम्मेवारी भुलेर प्रधानमन्त्रीविरुद्ध सडकमा नाराबाजी गर्दै हिँड्नु गैरजिम्मेवारीपन भएको ओली समूहको नेकपा कालीकोटका सचिव नेशनल शाहीले बताए । ‘मुख्यमन्त्री शाही आफ्नो जिम्मेवारी भुलेर सडकमा आउनुभयो,’ उनले भने, ‘यसरी सडकमा आउँदा मुख्यमन्त्री शाहीले जंगलमा छौं भन्ने प्रमाणित गर्नुभयो ।’ मुख्यमन्त्री शाहीको गैरराजनीतिक संस्कार भएको उनको भनाइ छ ।