प्रचण्डले माओवादलाई विसर्जन गरेः मन्त्री साह

रौतहट । सहरी विकास मन्त्री तथा नेकपाको प्रदेश २ का अध्यक्ष प्रभु साहले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल पचण्डले माओवादलाई बिसर्जन गरेको आरोप लगाएका छन् ।
रौतहटको गरुडामा जिल्लास्तरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री साहले माओवादी पार्टी हुँदाको अवस्थाका सबै सिद्धान्तलाई बिर्सदैँ गएको आरोप लगाउँदै प्रचण्डमाथि इमानदार कार्यकर्ताको मूल्यांकन गर्ने क्षमताको अभाव रहेको आरोप पनि लगाएका छन् ।
जनतामा जान नचाहनेहरुको भीड माधव–प्रचण्ड समुहले जम्मा गरेको आरोप लगाउँदै मन्त्री साहले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई कहिल्यै चुनाव नजित्ने तर पद सधैँ चाहिने नेताको रुपमा सबैले बुझेको आरोप पनि लगाएका छन् । संसदीय चुनाव हारेपछि षड्यन्त्र गरेर प्रधानमन्त्री बनेको र पार्टीको अध्यक्षको चुनाव हारेर फेरि चोरबाटोबाट पार्टीको अध्यक्ष बनेको आरोप लगाउँदै चुनाव हारेर पनि पद नपाउँदा नेतृत्वविरुद्ध सधैँ षड्यन्त्र गर्ने प्रवृत्ति नेपालको रहेको पनि बताए ।
चौतर्फी घेराबन्दी गरेपछि बाध्य भएर प्रधानमन्त्री केपिशर्मा ओलीले संसद विघटन गरेको बताउँदै संसद विघटन र नयाँ जनादेशको लागि जनतामा जानु दुवै संवैधानिक कदम भएको बताएका छन् । कतिपयले संसद विघटनलाई प्रतिगमनको संज्ञा दिइरहेको तर्कलाई खण्डन गर्दै मन्त्री साहले संसद विघटन गरेर सम्पूर्ण अधिकार आफैँमा राखेको नभई चुनावको नयाँ मिति घोषणासमेत गरिएकोले ताजा जनादेशका लागि सबैलाई जनतामा जान पनि सुझाव दिएका छन् ।
चुनावमा जान पनि डराउने र सर्वोच्च अदालतको फैसला कुर्न पनि नसक्नेहरुले पार्टी र सरकारविरुद्ध निरन्तर षड्यन्त्र गरेको यथार्थ सबैले बुझनुपर्ने मन्त्री साहको भनाइ छ ।
नेकपाको प्रदेश इन्चार्ज तथा स्थायी समिति सदस्य सत्यनारायण मन्डल, रेखा झा, अबुल कलाम आजाद, कुन्दन कुशवाहालगायतले मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री ओलीको बचाउ गरेका थिए भने प्रचण्ड–नेपाल समूहमाथि खनिएका थिए ।
हजारौँको सहभागिता रहेको कार्यक्रममा मन्त्री साहलाई ५१ किलो फूलको मालाद्वारा जिल्लामा स्वागत गरिएको छ । मन्त्री साहको गृह जिल्ला रौतहटमा उनलाई भव्य स्वागत गरिएको छ ।

प्रतिकृया दिनुहोस्