हिमाली जिल्लाका आठ प्रहरी चौकी विस्थापित

वीरेन्द्रनगर । अत्यधिक चिसो बढ्दै गएपछि कर्णालीका हिमाली जिल्लामा रहेका आठवटा प्रहरी चौकी विस्थापित भएका छन् । हिमाली जिल्ला हुम्लाका दुई, डोल्पाका पाँच र मुगुका एउटा प्रहरी चौकी विस्थापित भएका हुन् ।
बाग्लो हिउँसँगै अत्यधिक चिसोका कारण बर्सेनि यहाँका प्रहरीचौकी विस्थापित हुने गर्छन् । हुम्लाका हिल्सा, लिमी प्रहरी चौकी, डोल्पाका नाम्दो, तिन्जे, भिजेर, धो प्रहरी चाकी, अस्थायी प्रहरी पोष्ट राप र मुगुको मुगु प्रहरी चौकी जिल्ला प्रहरी कार्यालयमा मर्ज भएका प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता माधव श्रेष्ठले जानकारी दिए । प्रहरी चौकी मात्र होइन लगातार हिउँ पर्न थालेपछि त्यसक्षेत्रका स्थानीय पनि बेसी झरेका छन् । प्रहरी चौकी मर्ज भए पनि सुरक्षा निगरानी भने भइरहेको डोल्पाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) चिरञ्जीवि गिरीले जानकारी दिए । ‘प्रहरी चौकी मर्ज हुँदा गाउँ सुरक्षाविहीन भएको छैन,’ उनले भने, ‘माथिल्लो क्षेत्रमा सुरक्षा निगरानी भइरहेको छ ।’
अधिकांश सर्वसाधारण बेसी झरेपछि मान्छेको बसाइँ पातलो भएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ । त्यस क्षेत्रका प्रहरीलाई आफ्नै पूर्वाधार नहुँदा पनि बस्न समस्या भएको छ । पूर्वाधार नहुँदा प्रहरी भाडाको घरमा बस्दै आएका छन् । सिडिओ गिरीका अनुसार प्रहरीले पायक पर्ने ठाउँबाट ती क्षेत्रमा सुरक्षा निगरानी गरिरहेको छ । बाग्लो हिमपात हुँदा ढिलो गरी हिउँ पग्लिन्छ, जसले गर्दा यी क्षेत्र करिब ६ महिना खाली हुने गर्छन् । चिसो छल्न यहाँका सर्वसाधारण जिल्ला सदरमुकाम, नेपालगन्ज, काठमाडौंलगायतका क्षेत्रमा जाने गर्छन ।

प्रतिकृया दिनुहोस्