चिनी मिल मालिकलाई पक्रेपछि बल्ल उखुकाे भुक्तानीमा चासो

चिनी मिल मालिकलाई पक्रेपछि बल्ल उखुकाे भुक्तानीमा चासो
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बुटवल । नवलपरासीको लुम्बिनी चिनी उद्योगले एकसाता भित्रै आन्तरिक समस्या टुङ्गयाएर किसानको भुक्तानी सुरु गर्ने प्रतिबद्धता जनाएको छ । सरकारसंग भएको सम्झौता अनुरुप उसले पुष मसान्त अघि नै सम्पूर्ण किसानको भुक्तानी चुक्ता गरीसक्ने जनाएको छ ।आन्तरिक समस्या एक साता भित्रै सल्टाएर किसानको भुक्तानी सुरु गर्ने लिखित प्रतिवद्धता जनाएपछि मिलका संचालक मनोज अग्रवाल तारेखमा छुटेका छन । अग्रवाल बिहिबार पर्साबाट पक्राउ परेका थिए । बिहिबारै राती उनलाई नवलपरासी ल्याइएको थियो ।

 दुइ बर्ष देखि उखुको भुक्तानी नपाएका किसानले उद्योगका संचालक बिरुद्ध ठगि मुद्दा दिएका थिए । सुनवल नगरपालिकाका उखु किसान ज्ञानचन्द्र यादव, जर्नादन यादव, बिरेन्द्रकुमार गुप्ता, हरीलाल गुप्ता, अर्जुन चौधरी लगायतका किसानले उद्योगका संचालक सुशिला गोयल (अग्रवाल) बिरुद्ध  पुस २ गते ठगी मुद्या दर्ता गरेका थिए ।

मनिष अग्रवालको नाममा रहेको उद्योग उनको मृत्युपछि श्रीमती सुशिला गोयल अग्रवालको जिम्मामा गएको थियो । अशंबण्डा गर्दा उद्योग सुशिलाका देवर मनोज अग्रवालको भागमा परेकाले प्रहरीले सोही मुद्दामा मनोजलाई नियन्त्रणमा लिएर नवलपरासी ल्याएको हो । शुक्रबार जिल्ला प्रशासन कार्यालय नवलपरासीमा उखु किसान, प्रहरी र प्रशासन बिच छलफल भयो । किसानहरुले उखुको भुक्तानी पुरा नगरेसम्म मिल चलाउन नदिने चेतावनी दिएका छन । अग्रवालले उद्योगको नामसारी गरी लोन स्वीकृत गराउन एक सताको समय मागेको नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले बताए ।

एकसाता भित्र आंतरिक तयारी पुरा गरी किसानको भुक्तानी दिने लिखित प्रतिबद्धता जनाएपछि अग्रवाललाइ तारेखमा छोडिएको प्रजिअ पाठकले बताए ।

ठगी मुद्दामा मिल मालिक पक्राउ परेपछि उद्योगले २ करोड रकम बैंकमा जम्मा गरेको छ । त्यसमध्ये शुक्रबार सम्म १ करोड ९ लाख रुपँैया किसानको खातामा पठाइसकेको छ । अग्रवालले दुइ वटा बैंकबाट ५÷५ करोड लोन लिने प्रक्रिया सुरु गरेको छलफलमा बताएका थिए ।

सुनवलमा रहेको लुम्बिनी चिनी उद्योगले २०७५ सालमा २ लाख २४ हजार क्वीन्टल उखु क्रसिङ गरेको थियो । सरकारले उद्योगका लागि तोकेको प्रति क्वीन्टल ४७१ रुपैँयाका दरले उसले किसानलाई १० करोड बढी उखुको भुक्तानी दिनु पर्छ ।

नवलपरासीकै अर्को उद्योग इन्दिरा सुगर मिलले पनि किसानको ८ करोड भुक्तानी दिएको छैन । सो उद्योगका संचालक राकेश अग्रवाल बिरुद्ध पनि उखु किसानले ठगी मुद्दा दिएका छन । तर प्रहरीले अहिलेसम्म अग्रवालाइ पक्राउ गरेको छैन ।