सीमामा भारतीय सुरक्षा बलले खम्बा गाढ्न खोज्दा नेपालीको प्रतिकार

सीमामा भारतीय सुरक्षा बलले खम्बा गाढ्न खोज्दा नेपालीको प्रतिकार
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

इलाम । नेपालको पूर्वी भारतीय सीमा क्षेत्रमा सीमास्तम्भ यकिन नहुँदा फेरि विवाद बढ्ने सम्भावना देखिएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले स्थानीयको आँखा छलेर रातको समयमा खम्बा गाढ्नेसम्मको गतिविधि गर्न थालेपछि विवाद बल्झिने देखिएको हो ।

दशगजा क्षेत्रमा आफूले दर्जनौं पक्की संरचना बनाएपनि नेपाली पक्षलाई नेपाली भूमिमै संरचना बनाउनसमेत रोकिरहेको भारतीय पक्षले दशगजामा एकलौटी रूपमा खम्बा गाढ्ने प्रयास गरेको छ । सूर्याेदय नगरपालिका–२, पशुपतिनगरको हिलेभञ्ज्याङमा एसएसबीले नेपाल र भारतको सीमा भन्दै शनिबार राति खम्बा गाढेको थियो । एसएसबीको गतिविधि थाहा पाएर आइतबार त्यहाँ पुगेका स्थानीयले प्रतिकार गरेपछि एसएसबी पछि हटेको छ । निकै आक्रोशित हुँदै पुगेका स्थानीयले नेपाली भूमि मिचेर खम्बा गाढेकामा विरोध जनाएका थिए । एसएसबीले पिलरको बीचमा गाढेको खम्बा स्थानीयकै दबाबपछि उखेलेको छ ।

एसएसबीले ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस)ले देखाएको ठाउँ भन्दै खम्बा गाढ्ने प्रयास गरेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बलको पशुपतिनगरस्थित बोर्डर आउट पोस्ट (बिओपी)का इन्स्पेक्टर नवीन खतिवडाले सोमबार भएको अनौपचारिक छलफलमा एसएसबीले एकतर्फी रूपमा खम्बा गाढ्नु आफ्नो गल्ती भएको स्वीकारेको बताए । 

सूर्येदय नगरपालिकाका जनप्रतिनिधि, स्थानीय, सशस्त्र र जनपद प्रहरीको टोलीसँग एसएसबीले आइन्दा सहमतिबिना दशगजामा कुनैपनि गतिविधि नगर्ने प्रतिबद्धता गरेको हो ।

यहाँको दशगजा क्षेत्रमा भारतले विद्यालय, घर, गुम्बा र प्रहरी पोस्टलगायत दर्जनौं संरचना बनाइसकेको छ । तर, नेपाली पक्षलाई चाहिँ दशगजाभन्दा ३ सय मिटर भित्रसमेत संरचना निर्माण गर्न अवरोध गर्नेगरेको छ । गतवर्ष एसएसबीले सीमा क्षेत्रमा रहेको पूर्वकै उत्कृष्ट पर्यटकीयस्थल सन्दकपुर (३ हजार ६ सय ३६ मिटर उचाई)को भ्यु–पोइन्टमा बन्न लागेको भ्यु–टावर निर्माण रोकेको थियो । एकै स्थानबाट ३ देशका हिमाल दृश्यावलोकन गर्न सकिने सन्दकपुर डाँडाको मुख्य चुचुरोमा जान र तस्बिर खिच्नसमेत पर्यटकलाई निषेध गरेको थियो । विद्यार्थीले त्यहीं पुगेर आन्दोलन गरेपछि एसएसबी हटेको थियो ।