बाढीपहिरोको जोखिममा रहेको बस्ती तत्काल स्थानान्तरण गर्न सिफारिस

सिन्धुपाल्चोक । हिमाली जुगल गाउँपालिकाका दुई बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेको बिज्ञले औँल्याएका छन् । आउँदो बर्खा अगाबै ती बस्ती स्थानान्तरण गर्न उनीहरुले सरकारलाई सुझावसमेत दिएका छन् ।
एक सय ७३ घरधुरीको लिदी र २६ घर परिवारको बसोबास रहेको सानो नाम्फा बाढीपहिरोको जोखिममा रहेको बिज्ञले औँल्याएका हुन् । गएको बर्खामा गाउँपालिकाका आधा दर्जन बस्ती बाढीपहिरोको चपेटामा परेका थिए । गत साउन ३१ गते पहिरोले लिदी गाउँ बगाउँदा २९ ले ज्यान गुमाएका थिए ।
राष्ट्रि«य पुनर्निर्माण प्राधिकरण र राष्ट्रिय बिपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको अगुवाईमा बिज्ञ समूहले गत महिना बाढीपहिरोको चपेटामा परेका बस्तीको भौगर्भिक अध्ययन गरेको थियो । समूहले अध्ययन प्रतिवेदन सोमबार मात्र बिपद् व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललाई बुझाएको छ ।
भूगर्भबिद्, जिओटेक इन्जिनियर, सहरी योजनाकार, नापी अधिकारी लगायत बिज्ञ सम्मिलित प्राविधिक टोलीले गाउँपालिकाका लिदी, बोल्दे, सञ्चगाउँ, ठूलो नाम्फा, सानो नाम्फाको भौगर्भिक अध्ययन गरेको थियो । ‘लिदी र सानो नाम्फा गाउँ बाढीपहिरोमा उच्च जोखिममा रहेको निष्कर्ष निकालेका छौँ,’ अध्ययन समितिका सदस्य पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) का प्रमुख सन्तोष निरौलाले भने । यी बस्ती सुरक्षित स्थलमा सार्न बिपद् प्राधिकरणलाई सुझाव दिएको उनले जानकारी दिए ।
दुई सय ७० घरधुरीको बोल्दे गाउँलाई सम्भावित जोखिमयूक्त बस्ती औँल्याउँदै टोलीले पुनः बिस्तृत अध्ययन गर्न सुझाएको छ । सञ्चगाउँ सुरक्षित देखिए पनि तत्काल सुरक्षाका कामहरु गर्नु पर्ने देखिएको ठहर प्रतिवेदनमा गरिएको छ । ठूलो नाम्फा भने सुरक्षित देखिएको इन्जिनियर रहेका निरौलाले जनाए । प्रतिवेदनमा जोखिमयूक्त बस्तीका स्थानीयलाई सेलाङको बाँसखर्कमा स्थानान्तरण गर्न सकिने बिकल्पसमेत दिइएको छ ।
पछिल्लो समय प्राकृतिक बिपत्तिको मार पर्र्दै आएको सिन्धुपाल्चोकसहित बाग्लुङ जिल्लालाई सरकारले बिपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । बिपद्का धेरै घटना भएकाले सिन्धुपाल्चोकलाई संकटग्रस्त जिल्ला घोषित गरिएको थियो ।

प्रतिकृया दिनुहोस्