धरानमा खैरो हेरोइनको सेवनकर्ता बढे

धरान । धरानबाट खैरो हेरोइनको कारोबार बढ्दै गएको छ । पछिल्लो ३ दिनमा नै यहाँ ६ जना खैरो हेरोइनसहित पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय धरानले खैरो हेरोइनसहित पक्राउ परेका ४ जना युवाहरुलाई आज बुधबार सार्वजनिक गरेको छ । पक्राउ परेका चारै जना ओसारपसारमा संलग्न रहेको प्रहरीले जनाएको छ । डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार मंगलबार दिउँसो ३ बजेर १० मिनेटमा धरान ८ अरुण टोलका ३७ बर्षीय शुक्रराज मोक्तान र धरान १८ का ३० बर्षीय दिपेश श्रेष्ठ खैरो हेरोइनसहित पक्राउ परेका थिए । उनीहरुको साथबाट ९ ग्राम खैरो हेरोइन पनि वरामद भएको प्रहरीले जनाएको छ । को २० प ६४११ नम्बरको स्कुटरमा सवार रहेको बेला शंका लागि चेकजाँच गर्दा उनीहरुको साथबाट खैरो हेरोइन फेला परेको थियो ।
डिएसपी बस्नेतका अनुसार स्कुटर चालक शुक्रराजले लगाएको ज्याकेटको बाँयातर्फको गोजीमा लुकाएको अवस्थामा हेरोइन फेला परेको थियो । दुवैलाई सोधपुछ गर्दा मिलेमतोमा खैरो हेरोइन ओसारपसार गरेको खुलेको प्रहरीले जनाएको छ । मंगलबार नै दिउँसो १ बजेर ५० मिनेटमा धरान ६ पानवारीस्थित धरान केराबारी सडकखण्डमा धरानतर्फ आउदै गरेको को १६ प ९७९२ नम्बरको पल्सर मोटरसाइकलमा सवार २ जना युवा पनि खैरो हेरोइनसहित पक्राउ परेका थिए ।
पक्राउ पर्नेमा धरान १५ का ३० बर्षीय प्रेम तामांग र धरान ८ का २४ बर्षीय जोन तामांग रहेका छन् । उनीहरुलाई शंका लागेर चेकजाँच गर्दा मोटरसाइकल चालक प्रेमले हेल्मेटभित्र लुकाएर बोकेको खैरो हेरोइन १ ग्राम फेला परेको प्रहरीले जनाएको छ । उनीहरु पनि खैरो हेरोइन ओसारपसारमा संलग्न रहेको डिएसपी बस्नेतले जानकारी दिए । चारै जनालाई अदालतबाट म्याद थप गरि अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । यसअघि, सोमबार राती करिब ७ बजे धरान १३ का सचिन प्रधान र मोरंगको केराबारी गाउँपालिका–५ का २४ बर्षीय सन्दिप राई पनि खैरो हेरोइनसहित पक्राउ परेका थिए । प्रहरीले प्रधानको साथबाट १ ग्राम र राईको साथबाट ७ मिलिग्राम खैरो हेरोइन वरामद गरेको थियो । पछिल्लो समय धरानमा खैरो हेरोइनको सेवनकर्ताहरु बढी देखिएको र प्रहरीले पनि नियन्त्रणमा सक्रियता देखाएकोले करोबारीहरु पक्राउ पर्न थालेको डिएसपी बस्नेतले जानकारी दिए । उनले भने,‘खैरो हेरोइन सेवनकर्ताहरु बढी देखिएको छ, र हामीले पनि नियन्त्रणमा चासो देखाएका छौं । त्यसैले पक्राउ पर्ने क्रम पनि बढेको छ

प्रतिकृया दिनुहोस्