सुदूरपश्चिम प्रदेश, अर्थ मन्त्री बोहराद्वारा राजीनामा, मन्त्रालयबाटै हिँडेरै मुख्यमन्त्री कार्यालयमा

सुदूरपश्चिम प्रदेश, अर्थ मन्त्री बोहराद्वारा राजीनामा, मन्त्रालयबाटै हिँडेरै मुख्यमन्त्री कार्यालयमा
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएका छन् । मन्त्री बोहराले बुधबार दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर मुख्यमन्त्री त्रिलोचन भट्ट समक्ष राजीनामा दिएका हुन् । पूर्व माओवादी केन्द्रबाट मन्त्री बनेका बोहरा प्रधानमन्त्री केपी शर्मा ओली पक्षतिर खुलेसँगै बुधबार दिउँसो राजीनामा दिएका हुन् । 

राजीनामा दिनुअघि मन्त्री बोहराले आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै आफूले अहिलेसम्म सुदूरपश्चिम प्रदेशका लागि गरेका प्रमुख कार्य तथा उपलब्धिबारे चर्चा गर्दै राजीनामा दिने बताएका थिए ।

बुधबार दिउँसो अर्थ मन्त्रालयको कार्यकक्षमै आफू निकटका ६ जना प्रदेश सभा सदस्यलाई राखेर मन्त्री बोहराले पत्रकार सम्मेलन गरेका थिए ।

आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले मन्त्रालयमै पत्रकारसम्मेलन गरेपश्चात् मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा दिन हिँडेर गए । ओली पक्षिय ६ जना प्रदेश सभा सदस्यसँगै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हिँडेरै राजीनामा दिन मन्त्री बोहरा गएका हुन् । पत्रकार सम्मेलनपश्चात् मन्त्रालय अगाडि ‘स्टेण्ड बाई’ राखिएको मन्त्रीको सरकारी गाडी नचढेरै अर्थमन्त्री बोहरा प्रदेश सभा सदस्यहरुलाई लिएर हिँडेरै मुख्यमन्त्रीको कार्यालय गएका हुन् । मन्त्री बोहराले मन्त्रालय बाहिर निस्केपछि प्रदेश सभा सदस्यहरुलाई ‘मुख्यमन्त्रीको कार्यालय नजिकै छ, हिँडेरै जाऔँ’ भनेपछि हिँडेरै सबैजना हिँडेरै गएको एकजना प्रदेश सभा सदस्यले बताए ।

यि हुन् ओली पक्षका प्रदेश सभा सदस्य

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजन भएसँगै सुदूरपश्चिम प्रदेश सभाका प्रदेश सभा सदस्य पनि प्रष्ट रुपमा विभाजित भएका छन् । सुदूरपश्चिम प्रदेश सभामा रहेका ५३ जना प्रदेश सभा सदस्य मध्य नेकपाका ३९ जना थिए । ती मध्ये बुधबारसम्म प्रधानमन्त्री ओली समूहमा ७ जना प्रदेश सभा सदस्य प्रष्ट खुलेका छन् ।  आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहरा, मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहोरा, प्रदेश सभा सदस्य नेपालु चौधरी, रतन थापा, लिलाधर भट्ट, महेशदत्त जोशी र ग्याल्बु बोहरा ओली पक्षमा खुलेका हुन् ।