मधेसमा आक्रामक बन्दै, प्रधानमन्त्री ओली नेतृत्वको नेकपा

रौतहट । नेकपाको औपचारिक विभाजन नभए पनि दुई गुटउपगुटको भेला तथा सभाहरुले प्रदेश २ मा पनि निरन्तरता पाइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा आक्रामक देखिएको छ । प्रदेश २ स्तरीय विभिन्न भेलाहरु गरेर नेकपाले प्रदेशमा जनमत आफ्नो पक्षमा रहेको देखाउने प्रयास गरेको छ ।
प्रधानमन्त्री ओली नेतृत्वको नेकपाले प्रदेशस्तरीय तथा जिल्लास्तरीय भेलाहरु धमाधम सम्पन्न गरेका छन् । एक हप्तामा नै प्रदेशस्तरीय कार्यकर्ता भेलादेखि विभिन्न जिल्लास्तरीय कार्यकर्ता भेला गरेर जनमत आफ्नो पक्षमा रहेको देखाउने प्रयास गरेको छ ।
पर्साको वीरगंज, रौतहटको गरुडा तथा धनुषाको जनकपुरमा हजारौँको उपस्थितिमा भएका कार्यक्रमहरुले प्रदेशका जनता स्थिरताको पक्षमा रहेको देखिएको सहरी विकास मन्त्री तथा नेकपाको प्रदेश २ अध्यक्ष प्रभु साहको विश्लेषण रहेको छ । साहको उपस्थितिमा प्रदेशमा ठूला सभाहरु सम्पन्न भएका छन् ।
नेकपाको प्रदेश अध्यक्ष साहसहित प्रदेश इन्चार्जलगायत ओली समूहमा रहेका छन् । प्रधानमन्त्री ओलीले पछिल्लोपटक मन्त्रीपरिषद गठन गर्दा प्रदेशबाट तिनजना मन्त्री नियुक्त गरेपछि नेकपाको कार्यक्रममा स्थानीयबासीको सहभागिता बढी देखिएको हो ।
प्रदेशमा मधेसविरोधी भावना भएको नेताको रुपमा प्रचार गरिएका ओली मधेस विरोधी नभएको सन्देश पनि गएको विश्लेषण राजनीतिकर्मीहरुको रहेको छ । नेपाली कांग्रेसबाट नेकपामा प्रवेश गरेका रौतहटका लालबाबु साहले प्रधानमन्त्री ओलीदेखि डराएकाहरुले मधेस विरोधी प्रचार गरेको र मधेसको पक्षमा काम गर्न नदिनेहरुले पनि बदनाम गराएको बताएका छन् ।
जिल्लास्तरीय कार्यकर्ता भेलामा पनि बिसौँ हजार सर्वसाधारण नागरिकको सहभागिता रहेको देखिएको तथा प्रदेश २ का अधिकांश जनताले देशमा शान्ति र विकासको पक्षमा आफ्नो अभिमत चाहेको प्रदेश दौडाहाको क्रममा आफूले पाएको मन्त्री साहको भनाइ छ ।
प्रदेश २ मा मन्त्री तथा प्रदेश अध्यक्ष प्रभु साहको प्रभाव बलियो देखिएको र आउँदो निर्वाचनमा प्रदेशमा ओली पक्षले अन्य दलको तुलनामा राम्रो पदर्शन गर्ने आधार तय भएको नवप्रवेशीहरुको भनाइ छ । २०६४ को संविधानसभा निर्वाचनमा रौतहटको क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रुपमा संविधानसभा सदस्य बनेका तथा जसपाका केन्द्रीय सदस्यसमेत रहेका बबन सिंहलगायतले नेकपामा प्रबेश गरेका छन् ।

प्रतिकृया दिनुहोस्