झुटो विवरणमा नागरिकताको सिफारीस दिने धरान ९ का वडाअध्यक्षविरुद्ध पक्राउ पुर्जी

झुटो विवरणमा नागरिकताको सिफारीस दिने धरान ९ का वडाअध्यक्षविरुद्ध पक्राउ पुर्जी
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धरान । झुटो विवरण पेश गरेर धरान वडा नं ९ को बासिन्दा भई नागरिकता निकाल्ने स्याङ्जाकी एक महिला पक्राउ परेकी छिन् भने सिफारिश गर्ने वडाअध्यक्ष विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

               स्याङ्जाको वालिङ ३ घर भएकी मञ्जु क्षेत्री नाम गरेकी महिलाले धरान वडा नं ९ बाट सिफारिश लिएर दुई बर्षअघि नागरिकता निकालेको खुलेको छ । उनी पक्राउ परिसकेकी छिन् । उनलाई नागरिकताको लागि सिफारिश गर्ने वडा अध्यक्ष रत्न कटवालविरुद्ध धरान प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएको छ । वडा ९ का वडाअध्यक्ष कटवाल भने फरार भएका छन् । फोन सम्पर्क गर्न प्रयास गर्दा अध्यक्ष कटवालको मोवाइल स्वीच अफ छ ।

               इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले अध्यक्ष कटवालविरुद्ध पक्राउ पुर्जी आएको पुष्टि गरे । उनले भने,‘स्याङजाको महिलालाई झुटो विवरण पेश गरेको आधारमा नागरिकता दिलाएकोबारे अनुसन्धान भइरहेको छ, अदालतबाट वडाअध्यक्षलाई पक्राउ पुर्जी आएको छ ।’ डिएसपी बस्नेतका अनुसार पक्राउ पुर्जी हिजो जारी भएको हो ।

               पक्राउ परेकी महिला क्षेत्री विरुद्ध स्याङ्जामा नै जाहेरी दिर्ता भएको थियो । धरानबाट नागरिकता निकालेको कारण स्याङ्जा प्रहरीले थप अनुसन्धान र कारबाहीको लागि धरान पठाएको हो । अनुसन्धानको क्रममा झुटो विवरण पेश गरेर नागरिकता लिएको प्रहरी निष्कर्षमा पुगेपछि पक्राउ पुर्जी लिएको हो । ‘अहिलेसम्मको अनुसन्धानबाट झुटो विवरण पेश गरेर नागरिकता लिएको देखियो, वडाबाट सिफारिश भएको देखिन्छ,’डिएसपी बस्नेतले भने ।

स्याङ्जाकी मञ्जु क्षेत्रीले धरानको वडा नं ९ मा २०५५ सालको जन्म दर्ता गराएर २०७५ साल माघ ८ गते २० बर्षको उमेरमा नागरिकता लिएकी छिन् । तर, उनको वास्तविक उमेर भने त्यो भन्दा बढी देखिन्छ । उनको बुबा बन्ने व्यक्ति अर्घाखाची जिल्लाका गोपाल सेजुवाल छन् । उनलाई पनि धरान ९ को बासिन्दा बनाइएको छ । सेजुवाल हाल जापानमा छन् । यो नागरिकता प्रकरणमा ठुलो रकमको चलखेल भएको अनुमान गरिएको छ ।

प्रहरीका अनुसार जापानमा रहेका सेजुवाल र स्याङ्जाकी मञ्जुबीच सामाजिक सञ्जालमा चिनाजान भएपछि छोरी बनाएर जापान लैजाने चक्करमा यो घटना हुन पुगेको हो । यसको लागि धरानबाट झुटो विवरण पेश गरेर नागरिकता निकाल्न ठुलो धनराशी खर्च गरेको बताइएको छ ।