इटहरीकी विद्या सरकार ठगी कसुरमा पक्राउ

इटहरीकी विद्या सरकार ठगी कसुरमा पक्राउ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

वीरेन्द्रनगर । अमेरिका पठाउँछु भन्दै ठगी धन्दा गर्दै आएकी सुनसरीस्थित इटहरी उपमहानगरपालिका–४ की २४ वर्षीया विद्या शर्मा बताउने विद्या सरकार पक्राउ परेकी छिन् । दैलेख प्रहरीको समन्वयमा महानगरीय प्रहरी परिसर टेकु काठमाडौले उनलाई पक्राउ गरेको हो ।

बिहीबार विद्या सरकारलाई दैलेख प्रहरीले सार्वजनिकसमेत गरेको छ । दैलेखको नारायण नगरपालिकामा केही समय अघि आइ आफू अन्तर्राष्ट्रिय सिंगापुर रेडक्रस सोसाइटीको नेपाल प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुँ भन्दै उनले ठगी धन्दा गर्दै आएकी थिइन् ।

‘आफ्नो संस्थाले स्थानीय तहमा कोभिड–१९ (कोरोना भाइरस) महामारीको रोकथामका लागि स्वास्थ्य सामग्री, त्रिपाल, सेनिटाइजर, मास्क, पन्जा र खाद्यान्न वितरण गर्ने जिम्मा मलाई दिएको छ भन्दै स्थानीय तहमा स्वास्थ्य सामग्री र राहत बाड्ने गरेकी थिइन् । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक तथा सूचना अधिकारी इन्द्रजित सुनारका अनुसार विद्या सरकारले अमेरिकाको लागि भिसा लागेको र आफूले ८÷१० जना युवालाई अमेरिका पठाउन सक्छु भन्दै युवालाई प्रलोभनमेत देखाएको पाइएको छ । उक्त प्रलोभन देखाएर उनले कात्तिक १४ गते नारायण नगरपालिका–१, नयाँबजारका मनोज थापालाई बैंकमार्फत ९० हजार रुपैयाँ जम्मा गर्न लगाएर ठगी गरेको उजुरीसमेत प्राप्त भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । त्यस दिनदेखि मनोजसँग विद्या सरकार सम्पर्कविहीन भएकी थिइन् ।

त्यस्तै नारायण नगरपालिका–१, का २८ वर्षीय विवेक थापालाई पनि अमेरिका पठाउने प्रलोभनमा पारी झुक्याइ वैशाख ३१ गतेदेखि असोज १८ गतेसम्म ५२ लाख १४ हजार दश रुपैयाँ पठाउन लगाएर सम्पर्कविहीन भएकी थिइन् । ठगी कसुर अन्तर्गत विवेकको जाहेरी दरखास्त परेपछि प्रहरी अदालतबाट पुस ९ गते पक्राउ अनुमति पाएको थियो । हाल जिल्ला प्रहरी कार्यालयमा दुईवटा मात्र उजुरी दर्ता भए पनि धेरैजनालाई समाज सेवा र अमेरिका लिने प्रलोभनमा करिब दुई करोडभन्दा बढी ठगेको अनुमान गरिएको छ ।