चुनावबाट मात्रै प्रतिनिधिसभा आउँछ, जनतालाई चुनावमा लाग्न प्रधानमन्त्री ओलीको आह्वान

चुनावबाट मात्रै प्रतिनिधिसभा आउँछ, जनतालाई चुनावमा लाग्न प्रधानमन्त्री ओलीको आह्वान
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनगढी । प्रतिनिधिसभा विगठन गरेर निर्वाचन तोकेपछि उपत्यका बाहिर पहिलोपटक निस्केका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावबाट मात्रै प्रतिनिधि सभा स्थापना हुने बताएका छन् । धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेश स्तरीय वृहत आमसभालाई सम्बोधन गर्दै संसद विगठन संविधान सम्मत भएको उनले बताए । ‘संसद विगठन असंवैधानिक भएको भन्नेहरुलाई एकपल्ट संविधान पढ्न आग्रह गर्दछु,’ उनले भने,‘संसदको ६४ प्रतिशतको सर्वसम्मतको प्रधानमन्त्री म हो, देशको समय बर्बाद हुने भयो, मलाई काम गर्न दिएनन्, त्यसकारण मैले ताजा जनादेशमा जान्छु भनेपछि संसद विघटनको सिफारिस गरेको हुँ ।’ संसद विघटन भइसकेपछि संसदमा अर्को विकल्प नहुँदा फेरि प्रतिनिधिसभा पुनस्र्थापना हुन्छ भन्ने कुरा संवैधानिक, व्यवहारिक, कानुनी, आवश्यकताको सिद्धान्त र अन्तर्राष्ट्रिय प्रचलन, मर्यादा कुनै हिसाबले पनि मिल्दैन ।’

केही मानिसले केपी ओलीले चुनाव गर्दैन भनेर हल्ला फैलाइरहेको उल्लेख गर्दै समयमै चुनाव हुनेमा ढुक्क रहन उनले सहभागीलाई बताए ।

प्रचण्ड–माधव समूहलाई देशभरबाट दसवटा सिट जितेर देखाउन चुनौती दिँदै भने,‘तपाईहरु देशभरबाट दस सिट जितेर ल्याएर देखाउनुस् ।’ तीन करोड जनतामा २ सय ६५ जनामात्रै गएको बताउँदै उनले भने,‘नुहाउँदा पनि दुई÷चार केश जान्छन्, त्यसले के फरक पर्छ ?’ प्रचण्ड–माधव समूहलाई लक्षित गर्दै आफ्नो पार्टी सम्धी, छोरी, बुहारी, साला आफन्तको नभई देश र जनताको पार्टी भएको बताए ।

प्रचण्ड–माधव समूहले  सडकमा अश्लिल गाली गलौच गर्दै हिँडिरहेको बताउँदै उनले भने,‘हामीलाई गाली गलौच गर्न फूर्सद छैन, हाम्रो ध्यान देश विकास गर्न र जनताको दुःख कष्ट हटाउनमा छ ।’ नाम उल्लेख नगरी भीम रावलप्रति इंगित गर्दै प्रधानमन्त्री ओलीले अघिल्लो पटक आफूले मन्त्री बनाउँदा केपी ओली ठीक हुने र एकै जनालाई पटक पटक मन्त्री नबनाउँदा विरोधमा उत्रिएको बताए ।

‘मन्त्री पद नपाउँदा नक्कली राष्ट्रवाद देखाएर गाली गलौचमा उत्रिएका छन्,’ उनले भने । रावललाई नै इंगित गर्दै सुदूरपश्चिमका सालका रुखहरु काटेर वन फँडानी गरिरहेको आरोप उनले लगाए ।

धनगढीको खुला मञ्चमा आयोजित विशाल आमसभामा हजारौंको सहभागिता रहेको थियो । विशाल सभालाई नेकपाका सुदूरपश्चिम इन्चार्ज तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना, वन तथा वातावरण मन्त्री प्रेम आले, श्रम तथा रोजगार मन्त्री गौरीशंकर चौधरी, प्रदेश सभाका ओली पक्षिय सांसद तथा विघठित प्रतिनिधि सभाका सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सुदूरपश्चिमका ९ वटै जिल्लाबाट सहभागी आएका थिए ।