May 15, 2021, Saturday
२०७८ जेष्ठ १, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

अविश्वास प्रस्तावको विधिसम्मत सामना गर्छुः मुख्यमन्त्री राई

अविश्वास प्रस्तावको विधिसम्मत सामना गर्छुः मुख्यमन्त्री राई
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राजनीतिक अस्थिरता चाहने संघीयता विरोधीहरूले रातारात सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको बताएका छन् । केही व्यक्तिले आफ्ना गलत क्रियाकलाप ढाकछोप गर्नमात्र ल्याएको अविश्वासको प्रस्तावको विधिसंगत सामना गर्ने उनले दोहो¥याए ।

राष्ट्रिय बालअधिकार परिषद् र मानवअधिकार मञ्च नेपालले विराटनगरमा आयोजना गरेको बालअधिकार सुनिश्चितताका लागि प्रदेशस्तरीय छलफल उद्घाटन गर्दै मुख्यमन्त्री राईले भएकोभन्दा ठूलो भाग खोज्नेहरूले अविश्वासको प्रस्तावको खेल रचेको आरोप लगाए ।

  ‘प्रदेश सरकारविरुद्ध आएको अविश्वास प्रस्तावले अब संघीय संरचना नै रहने कि नरहने भन्ने स्थिति पैदा गरेको छ,’ उनले भने, ‘न यो कुनै आवश्यकता थियो, न जनताको चाहना ।’ उनले प्रदेश सरकारले काम नगरेर वा गलत काम गरेर नभई प्रदेश संरचना नै भत्काउने चाहनाले आएको प्रस्तावमा ‘अन्यथा’ हुन नदिने बताए । केही समयपछि प्रदेश र देशको राजनीतिक परिस्थिति संग्लिएर जाने बताउँदै मुख्यमन्त्री राईले नागरिकको स्थायी शान्तिको चाहना पूरा हुने बताए ।

 कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेशलाई बालमैत्री घोषित गर्नेगरी सरकार र स्थानीय तहले कार्यक्रम कार्यान्वयनसमेत गर्दैजाने बताए । ‘प्रदेश सरकार बालअधिकारमा संवेदनशील छ,’ उनले भने, ‘हरेक वर्ष बालबालिकासम्बन्धी नीति र कार्यक्रम सञ्चालन गरी बालबालिकालाई समेत सरकारका क्रियाकलापमा साझेदार बनाइनेछ ।’

 कार्यक्रममा परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले १ नम्बर प्रदेश बालबालिकासम्बन्धी नीति र कार्यक्रममा अगुवा रहेको बताए । कार्यक्रममा १ नम्बर प्रदेशका जिल्ला समन्वय समिति, नगरपालिका, गाउँपालिकाका प्रमुख÷प्रतिनिधि तथा बालअधिकारको क्षेत्रमा क्रियाशील प्रदेशभरका विभिन्न संघ–संस्थाका प्रतिनिधि सहभागी छन् । प्रदेशस्तरको छलफलपछि जिल्ला र स्थानीय तहमा समेत छलफल चलाइ बालअधिकारसम्बन्धी कानुनमा गरिएको व्यवस्था कार्यान्वयनमा सघाउने उद्देश्य रहेको मानवअधिकार मञ्च नेपालका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माले जानकारी दिए । मञ्चले प्रदेशका १४ वटै जिल्लामा बालअधिकारसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको छ ।