कोशी टप्पु र बर्जुतालमा चरा बढ्यो

कोशी टप्पु र बर्जुतालमा चरा बढ्यो
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

इटहरी । पूर्वी नेपालमा चराको वासस्थानको रुपमा चिनिएको सुनसरीको दक्षिणी क्षेत्र बर्जुताल र कोशी टप्पुमा यस वर्ष संख्याका आधारमा २२ प्रतिशतले चराको संख्या बढेको छ । बर्जु ताल र कोशी टप्पु तथा आसपासका क्षेत्रमा यस वर्ष ६३ प्रजातिका १९ हजार ५४५ चराको संख्या पुगेको छ ।

बर्जुतालमा भने वर्षेनी बढ्दो क्रममा रहेको नयाँ बासस्थानको रुपमा चनिएको छ। यहाँ यस वर्ष मध्य हिउँदमा गरिएको गणना अनुसार ३७ प्रजातिका ११ हजार २५ चराको संख्या रहेको सार्वजनिक गरिएको छ ।

 बर्जु तालमा अघिल्लो वर्षको हिउँदे गणनाका क्रममा नौ हजार पाँच सय हाराहारी चरा रेकर्ड गरिएको थियो । बर्जु तालमा सन् २०१९ मा चार हजार पाँच सय हाराहारी, सन् २०१८ मा पाँच हजार हाराहारी र सन् २०१७ मा दुई हजार पाँच सय हाराहारी रेकर्ड गरिएको थियो ।

यसरी हरेक वर्ष यहाँ बसाई सरी आउने चराको संख्या बढ्दो छ । चराविज्ञ सञ्जिव आचार्यका अनुसार यस वर्षको गणनामा बसाई सरी आउने हाँस प्रजाति विगतका वर्षका तुलनामा कम आएपनि संख्यात्मक हिसावले भने बढेको पाइएको छ ।

महाभारत कालदेखि नै बर्जुताल रहेकोमा २०२६ सालताका तालभन्दा पश्चिम तर्फबाट खेतमा पानी लगाउँन नहर खन्निएपछि तालको पश्चिम तर्फको बाध फुटेर पूर्णरुपमा सुख्खा भएको थियो । ०५२ सालदेखि तालको संरक्षणमा स्थानीयबासी जुटेपछि अहिले व्यवस्थित हुँदै गएको छ ।

नेपालमा कुल ८ सय ८८ प्रजातिका चरा पाइन्छन् । कोशी टप्पुमा मात्र पाँच सय ३१ प्रजातिका चरा पाइने गरेका छन् । यहाँ विश्वमै संकटापन्न सुचीमा रहेका २९ प्रजातिका चरा पनि पाइन्छन् ।