यस्तो होस जनप्रतिनिधि, आफूले चढ्ने गाडी एम्बुलेन्सका रूपमा प्रयोग गरे

बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख र उपप्रमुखले चढ्ने सवारीलाई कोरोना सङ्क्रमित बिरामीका लागि प्रयोगमा लगाइने भएको छ। नगरप्रमुख वासुदेव घिमिरे र उपप्रमुख जागेश्वरी चौधरीले आफूले चढ्दै आएका गाडी कोरोना सङ्क्रमित बिरामीका लागि प्रयोगमा लगाएका हुन् ।
सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन बढ्दै जाँदा एम्बुलेन्स समयमा नपाउने र एम्बुलेन्स सेवा पर्याप्त नभएपछि नगरप्रमुख र उपप्रमुखले आफूहरुले चढ्दै आएका दुई गाडी बिरामीको सेवाका लागि प्रयोगमा लगाउने निर्णय गरेको बताइएको छ। छिटोछरितोरूपमा सेवा दिनका लागि आफूहरुले चढेको गाडी कोरोना सङ्क्रमितका लागि प्रयोगमा ल्याइएको नगरप्रमुख घिमिरेले बताए।
नगरपालिकामा हाल आफ्नै मातहतमा दुई एम्बुलेन्स सञ्चालनमा छन् । नगरप्रमुख र उपप्रमुखले चढ्ने दुई गाडीसमेत गरी अब चार सवारी साधनले कोरोना सङ्क्रमित बिरामीलाई बोक्नेछन् । आज नगरप्रमुख र उपप्रमुखले आफूले चढ्ने गाडीको चाबी कोरोना फोकल पर्सन केशव भट्टराईलाई हस्तान्तरण गरे । नगरप्रमुखले प्रयोग गर्ने लु१झ ३६० र उपप्रमुखले प्रयोग गर्ने लु१झ ३२६ नंको स्कारपियो आजैदेखि कोरोना सङ्क्रमितलाई बोक्न प्रयोगमा आएका छन् ।रासस

प्रतिकृया दिनुहोस्