एसइई र कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं। आगामी जेठ १३ गतेदेखि सञ्चालन हुने एसइई र जेठ २६ गतेदेखि हुने कक्षा १२ को परीक्षा स्थगन गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले अर्को निर्णय नभएसम्मका लागि दुवै परीक्षा स्थगन गर्ने निर्णय गरेको हो ।
कोभिड–१९ को महामारी बढिरहेको र सरकारले पनि यथास्थितिमा परीक्षा सञ्चालन नगर भनेकाले यही अवस्थामा परीक्षा सञ्चालन गर्न सक्ने अवस्था नरहेकाले तत्कालका लागि दुवै परीक्षा स्थगन गरिएको परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले बताए। परीक्षा अब कहिले हुन्छ भन्ने बारेमा पुनःछलफल गरी अर्को सूचना प्रकाशन गरी जानकारी गराइने छ।
कोरोना महामारीबीचमा एसइईका लागि देशभरका दुई हजार १९ परीक्षा केन्द्रमा परीक्षा दिने तयारीमा रहेका पाँच लाख १७ हजार विद्यार्थीलाई परीक्षामा सहभागी गराउन सक्ने अवस्था नरहेको बैठकले निष्कर्ष निकालेको बताइएको छ ।
बोर्डकाअनुसार बैठकले एसइई र कक्षा १२ को परीक्षा कसरी सञ्चालन गर्ने भन्नेबारेमा अध्ययन गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालका संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । सो कार्यदलले समग्र अवस्थाको अध्ययन गरी कोरोनाको सङ्क्रमण कायमै रहेर भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न सक्ने अवस्था नभए के कसरी परीक्षा सञ्चालन गर्ने भन्नेबारेमा ढाँचा तयार गर्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस्