मजदुर आन्दोलनले अरुण तेस्रो जलविद्युत् परियोजनाको काम रोकियो, स्थानीय प्रशासनमा छलफल जारी

संखुवासभा। निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारदेखि ठप्प भएको छ। सुरुङभित्र मजदूरको मृत्यु भएपछि क्षतिपूर्तिको माग गर्दै मजदूरले आयोजना स्थलका निर्माण सामग्रीमा तोडफोड गरेका थिए।
अवरुद्ध भएको अरुण तेस्रो आयोजनाको काम सञ्चालन गर्न सतलज कम्पनी र सरोकारवाला निकायसँग छलफल भइरहेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए। बुधबार बिहान साढे ८ बजे सुरुङभित्र माथिबाट खसेको ढुङ्गाले लागेर कञ्चनपुर शुक्लाफाँट नगरपालिका–१२ का ३७ वर्षीय कृष्ण रानाको मृत्यु भएको थियो। सोही स्थानका ५० वर्षीय मिठु राना घाइते भएका थिए । विद्युत् गृह निर्माणको जिम्मेवारी पाएको पटेल इञ्जिनीयरिङ लिमिटेडले जिम्मेवारीबाट पन्छिन खोजेको भन्दै कामदार दिनभर आन्दोलित भएका थिए ।
शव व्यवस्थापनका लागि चन्दा सङ्कलन गर्ने भनेपछि कामदारले आयोजनाको कार्यालय र सवारी साधनमा ढुङ्गामुढा गरेका थिए। कामदारहरु आक्रोशित भएपछि निर्माण कम्पनीले रु ५० हजार क्षतिपूर्ति दिने भने पनि रु ५० लाख बीमा रकम हुने भन्दै सो रकमको माग गरेको मृतकका भाइ रामस्वरुप रानाले बताए। अन्त्यमा आयोजनाले ३० लाख दिने सहमति जनाएपछि शव जिम्मा लिएको मृतकका भाइ रामले बताए।
कूल एक खर्ब ४४ अर्ब लागत निर्माण भइरहेको अयोजनाको काम २०२२ मा उत्पादन शुरु गर्ने लक्ष्य लिएको छ । मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा अरुण तेस्रो बाँधस्थल र चिचिला गाउँपालिका–२ दिदिङ पुखुवामा विद्युत् गृहस्थलमा निर्माण कार्य भइरहेको छ ।

प्रतिकृया दिनुहोस्