अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटक अलपत्र

अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटक अलपत्र
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मनाङ। नयाँ भेरियन्टसहितको कोरोना बढेसँगै विदेशी पर्यटक मनाङमा अलपत्र परेका छन् । मनाङ आएका पर्यटक हाल मनाङ ङिस्याङ गाउँपालिकाका साङसार, भ्राताङ, हुम्डे र पिसाङलगायतका गाउँहरुमा बसोबास गर्दै आएको बताइएको छ। स्थानीयवासी राम गुरुङले बन्दाबन्दीका कारण हिँडडुल गर्न नपाएका कारण अनुसार उनीहरु त्यही रहनु परेको बताए।

नयाँ भेरियन्टसहितको कोरोना भाइरस देखिन थालेपछि सबैजसो गाउँहरु सिल जस्तै भएका छन् । विश्वकै १०औँ नम्बरमा रहेको पर्यटकीय गन्तव्य अन्नपूर्ण पदमार्ग बन्द भएको छ । यहाँका मानिस होटल व्यवसाय बन्द गरेर घरभित्रै छन् । पिसिआर रिपोर्टअनुसार एक विदेशी नागरिकसहित जिल्लाभर २८ जना कोरोना सङ्क्रमित पुष्टि भएको छ। हाल जिल्लाभर कोरोना सङ्क्रमित ४४ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय मनाङले जनाएको छ ।

मनाङमा रहेका विदेशी नागारिक मनाङ ङिस्याङ गाउँपालिका मनाङ गाउँमा १४ जना खाङ्सार तिलिचो बेसक्याम्पमा चार, ङावोलगाउँमा तीन र पिसाङगाउँमा एक गरी जम्मा २२ विदेशी पर्यटक जिल्लामा रहेका अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए। वैशाख महिनामा १४४ पुरुष र ९७ महिला गरी २४१ विदेशी पर्यटक मनाङ भित्रिएका थिए । त्यस्तै १९७ जनाले थोरङ्ला पास गरी मुस्ताङ पुगेका छन् भने १० जना मनाङबाट फर्किएका अन्नपूर्ण संरक्षण क्षेत्र मनाङले जनाएको छ।

मनाङमा हाल अलपत्रमा रहेका अधिकांश युरोपियाली मुलुकका नागरिक छन् । दुई भारतीय, तीन इजरायली, अरु फ्रान्स, नेदरल्याण्ड र ब्रिटिसका नागरिक रहेको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङले जनाएको छ । देशका ठूला शहरमा भयवह स्थिति आउँदै गर्दा मनाङ छिरेका उनीहरु अहिले मनाङ ङिस्याङ गाउँपालिकाका विभिन्न गाउँमा बसिरहेका छन् । रासस