विद्युत् प्रणाली सुधार गर्न प्रदेश नं २ मा चार अर्ब लगानी

विद्युत् प्रणाली सुधार गर्न प्रदेश नं २ मा चार अर्ब लगानी
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जनकपुर। प्रदेश नं २ का आठै जिल्लाको विद्युत् प्रसारण र वितरण प्रणाली सुधार गर्न ठेक्का सम्झौता गरिएको छ। नेपाल विद्युत् प्राधिकरण र टाटा प्रोजेक्ट लिमिटेडबीच प्रदेशमा ग्रामीण विद्युतीकरण आयोजना कार्यान्वयनका लागि करीब चार अर्बको ठेक्का सम्झौता भएको हो।

आधुनिक उपकरणसहितका ३३/११ केभी, १६ दशमलव छ एमभिए क्षमताका आठवटा सबस्टेसनको निर्माण गरिने प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयले जनाएको छ। प्राधिकरणले गरेको अन्तर्राष्ट्रिय टेन्डरमा टाटा प्रोजेक्ट, भारतले ठेक्का पाएको हो । प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत कार्यान्वयन हुने आयोजनालाई पाँच चरणमा विभाजन गरिएको छ ।

ती सबस्टेसनको क्षमता १४८ दशमलव आठ एमभिए हुनेछ। साथै प्रदेशका जिल्लामा ३२३ सर्किट किलोमिटर ३३ केभी प्रसारण लाइन, ९५० सर्किट किलोमिटर ११ केभी लाइन र एक हजार सर्किट किलोमिटर ४०० भोल्टको नयाँ लाइन निर्माण गरिनेछ । आयोजना कार्यान्वयनका लागि नर्वे सरकारले तीन करोड ५० लाख अमेरिकी डलर अनुदान उपलब्ध गराएको छ।

प्राधिकरणका तर्फबाट सम्झौतापत्रमा आयोजना प्रमुख विमल चौधरी, रोशन खड्का, रन्धीर पाठक र अमित भगत , लेखा प्रमुख विष्णुप्रसाद आचार्य, इन्जिनीयर वसन्त नेपाल र विषम विनोद खनालले तथा टाटा प्रोजेक्टकातर्फबाट महाप्रबन्धक श्यामनारायण मित्तल र मनोजकुमार पटनायकले हस्ताक्षर गर्नुभएको थियो । आयोजनाको निर्माण ठेक्का सम्झौता कार्यान्वयनमा आएको ९० दिन अर्थात् ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।