कोरोना कहरमा पनि कर्णाली करिडोरको निर्माण तीव्र

कोरोना कहरमा पनि कर्णाली करिडोरको निर्माण तीव्र
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जुम्ला। राष्ट्रिय गौरवको योजनाअन्तर्गतको हिल्सा-सिमीकोट सडक योजनाद्वारा लकडाउनबीच बिभिन्न सडक खण्डमा निर्माण तीव्ररुपमा भइरहेको छ । कर्णाली कोरिडोरअन्तर्गत हिल्सा-सिमीकोट-सल्लिसल्ला सडक खण्डको च्याछराभीर कडा चट्टान छिचोल्ने कार्य सकिएको र उक्त सडक खण्डमा ग्रेड मिलाउने कार्यसमेत तीव्र गतिमा अगाडि बढिरहेको छ ।

सिमकोट सल्लिसल्ला सडक खण्डअन्तर्गत बोक्चेगौंडा भिर ब्रेक थ्रु गरी एक किमी जति नयाँ ट्र्याक खोल्ने कार्यसमेत अगाडि बढेको छ । गत वैशाख २८ गते जिल्ला प्रशासन कार्यालयबाट जारी भएको निषेधाज्ञासम्बन्धी निर्णयमा निर्माण क्षेत्रलाई पास उपलब्ध गराई निर्माण सामग्री ल्याउन सहज भएसँगै निर्माण कार्यले तीव्रता पाइरहेको हिल्सा सिमकोट सडक योजनाका प्रमुख विसुन दास लामाले बताए ।

सिमकोट सल्लिसल्ला सडक खण्डको दुल्लीकुना भिर फुटाउन कम्प्रेसर, जेनेरेटरलगायत उपकरण सुर्खेतबाट निर्माणस्थलसम्म आइसकेको र कोभिड–१९ का कारण इन्धनको अभावले गर्दा उक्त भिर फुटाउन केही समयसमेत लाग्ने सपना धुलिखेल जेभीका आधिकारिक प्रतिनिधि तेजबहादुर महतले बताए।