सामुदायिक वन उपभोक्ता महासंघको आह्वान, कोरोना रोकथाम र नियन्त्रणमा सहयोग गर्नु, दाहसंस्कारमा अवरोध नगर्नु

काठमाडौं। सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन)ले कोभिड–१९ का महामारीमा सामुदायिक वन उपभोक्ता समूहलाई परिचालन हुन आह्वान गरेको छ । महासंघले वक्तव्यमार्फत सामुदायिक वन उपभोक्ता समूहमार्फत आफ्नो सम्पूर्ण सामर्थ्यको प्रयोग गर्दै मुलुकभरका सम्पूर्ण सामुदायिक उपभोक्ता समूह र महासंघका प्रदेश महासंघ, जिल्ला महासंघ र स्थानीय महासंघलाई सहयोग परिचालनका लागि आग्रह गरेको हो ।
सामुदायिक वन उपभोक्ता समूहले सम्बन्धित स्थानीय तहसँग समन्वय गरी आफ्ना कोषमा रहेको रकमबाट स्थानीय आवश्यकतानुसार स्वास्थ्य सामग्री खरीद तथा वितरण गर्न आग्रह गरिएको महासंघका अध्यक्ष भारती पाठकले बताइन्।
महासंघले कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिको दाहसंस्कारका लागि आवश्यक पर्ने दाउरा सामुदायिक वनबाट सम्भव भएसम्म निःशुल्क रुपमा उपलब्ध गराउने र सामुदायिक वन क्षेत्रमा दाहसंस्कार गर्नुपर्ने अवस्था रहेमा अवरोध नगरी सहयोग गर्नसमेत आह्वान गरेको छ।
वनमा आश्रित विपन्न परिवारलाई सामुदायिक वनबाट जडीबुटी, कन्दमूल, वनजन्य खाद्य पदार्थ आदि संकलन गरी जीविकोपार्जन गर्ने कार्यमा सहयोग तथा सहजीकरण गर्ने र वनजन्य उद्यमका लागि आवश्यक पर्ने कच्चा पदार्थको आपूर्तिमा निरन्तरता दिन पनि आह्वान गरिएको उनले बताइन।

प्रतिकृया दिनुहोस्