सामुद्रिक आँधीले हिमाल आरोहण प्रभावित, तत्काल हिमाल आरोहण नगर्न/नगराउन मौसमविद्को सुझाव

सामुद्रिक आँधीले हिमाल आरोहण प्रभावित, तत्काल हिमाल आरोहण नगर्न/नगराउन मौसमविद्को सुझाव
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। अरब सागरमा विकसित भएको सामुद्रिक आँधीको प्रभावका कारण सगरमाथासहितको हिमाल आरोहण प्रभावित भएको छ । मौसम अनुकूल नहुँदा वैशाख ३० गतेदेखि आरोहण प्रभावित भएकाले सबैलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले बताइन्।

यतिबेला सयौं आरोही आधार शिविरमा अनुकूल मौसमको पर्खाइमा छन्। यस वर्ष सगरमाथा आरोहण गत वैशाख २४ गतेदेखि सुरु भएको थियो। दुई दिनमा करीब १५० भन्दा बढी आरोहीले सगरमाथाको शिखरमा पाइला टेक्न सफल भएको अनुमान गरिए पनि कोरोना सङ्क्रमणका कारण यकिन तथ्याङ्क सङ्कलनमा समस्या भएको नर्देशक आचार्यको भनाइ छ । उनकाअनुसार आमादब्लम हिमालको आरोहण सकिएको छ भने लोत्से, नुप्त्से लगायतको हिमाल आरोहण हुने क्रम जारी छ। 

अरब सागरको आँधीको प्रभाव नेपालमा पनि देखिने भएको हुँदा तत्काल हिमाल आरोहण नगर्न/नगराउन मौसमविद्ले सुझाव दिएका छन्। मौसमविद् मीनकुमार अर्यालकाअनुसार हिमाल आरोहणमा गएकाहरु यो समयमा आधार शिविरभन्दा माथि नजाँदा राम्रो हुनेछ। “भोलि पर्सिसम्म हिमालको माथिल्लो क्षेत्रमा गएकाहरु आधार शिविरमा झर्ने या सुरक्षित स्थानमा बस्नुपर्ने हुन्छ,” मौसमविद् अर्यालले भने।

यस वेला उच्च वेगको हावा, पानी र हिमपात हुने सम्भावना रहेको छ। यस वर्षको वसन्त याममा सगरमाथासहितका हिमाल आरोहणका लागि ८५ समूहका ७४२ आरोहीले अनुमति पाएका छन् ।रासस