ताप्लेजुङ जिल्ला अस्पताललाई अक्सिजन सिलिन्डर प्रदान

ताप्लेजुङ। उद्योग वाणिज्य संघले १७ थान अक्सिजन सिलिन्डर जिल्ला अस्पताललाई प्रदान गरेको छ। जिल्लामा कोरोना सङ्क्रमण दर तीव्ररूपमा बढिरहेको र जिल्ला अस्पतालमा अक्सिजनको अभाव भइरहेको अवस्थामा उद्योग वाणिज्य संघले आज सिलिन्डर उपलब्ध गराएको हो।
ताप्लेजुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीलगायत पदाधिकारी तथा सदस्यको उपस्थितिमा अक्सिजन सिलिन्डर जिल्ला अस्पतालका प्रमुख चिकित्सक सोनिङ लामालाई हस्तान्तरण गरिएको हो। वाणिज्य सङ्घले यसअघि गएको शुक्रबार आठ थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको थियो ।
प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेशकुमार भट्टराई, प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङ्बुहाङसहित विभिन्न उद्योगी, व्यापारीलगायत दाताको सहयोगबाट दुईपटक गरेर २५ थान अक्सिजन सिलिन्डर जिल्ला अस्पताललाई उपलब्ध गराएको वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अधिकारीले बताए।
जिल्ला अस्पताललाई उपलब्ध गराएको अक्सिजन सिलिन्डरले कोभिड–१९ सङ्क्रमित भएका बिरामीको उपचारमा सहयोग पुग्ने विश्वास वाणिज्य संघले लिएको छ ।

प्रतिकृया दिनुहोस्