तिब्बतबाट स्वास्थ्य सामाग्री बोकेका सवारी नेपाल हिँडे, तिब्बतले नेपाललाई २०० थान आईसीयू बेड दिने

काठमाडौं। चीनको तिब्बत प्रान्तले नेपाललाई दिएको स्वास्थ्य सामाग्री बोकेका सवारी साधन नेपालतर्फ हिँडेका छन्। ल्हासाबाट आज १५० सिलिन्डर लिक्विड अक्सिजन नेपालतर्फ पठाइएको हो। उक्त लिक्विडको ४० किलो क्षमताका ६ हजार सिलिन्डर अक्सिजन भर्न सकिने तिब्बतस्थित नेपाली महावाणिज्य दूतावासले बताएको छ। यो स्वास्थ्य सामाग्री भोलि रातिसम्ममा खासा आइपुग्ने बताइएको छ।
त्यस्तै चीनको तिब्बत सरकारले नेपाललाई २०० थान आईसीयू बेड दिने बताएको छ। तिब्बतस्थित नेपालको महावाणिज्य दूवातासलाई छिट्टै नै थप स्वास्थ्य सामाग्री दिने बताएको हो। आईसीयूसहित ५ थान भेन्टिलेटर र १० थान कन्सन्ट्रेटर दिने तिब्बतले बताएको छ।
तिब्बत सरकारले नेपाललाई दिएको स्वास्थ्य सामाग्री बोकेका कार्गो सवारीलाई बिना अवरोध नेपाल आउने भएको छ। तिब्बतस्थित महावाणिज्य दूतावासका सहसचिव नवराज ढकालले कार्गोलाई बिनारोकावट पठाउने प्रयास गर्ने जानकारी तिब्बत सरकारले दिएको बताए। यसैगरी, महावाणिज्य दूतावासले पनि उक्त स्वास्थ्य सामाग्रीलाई निरन्तर ट्र्याकिङ गरिरहेको उनको भनाइ छ।
निजी क्षेत्रले ल्याएको कोभिड–१९ सम्बधित सामाग्री तातोपानी भन्सार नाका नजिक
त्यस्तै निजी क्षेत्रले चीनबाट ल्याएको कोभिड–१९ सम्बधित सामाग्री तातोपानी भन्सार नाका नजिक आइपुगेको छ। तिब्बतस्थित महावाणिज्य दूतावासले बताएअनुसार २२ वटा सवारी साधान तातोपानी नजिक आइपुगेको छ। यसैगरी, एभरेष्ट ग्यासले ल्याएको ४५ सय वटा अक्सिजन सिलिन्डर यही साताभित्र तिब्बत आइपुग्ने र तातोपानीतर्फ द्रुतगतिमा पठाउने दूतावासले बताएको छ।

प्रतिकृया दिनुहोस्