चक्रवातको असर मङ्गलबारदेखि, पर्वतारोहीलाई सतर्कता अपनाउन आग्रह

चक्रवातको असर मङ्गलबारदेखि, पर्वतारोहीलाई सतर्कता अपनाउन आग्रह
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। पूर्वीमध्य बङ्गालको खाडीमा रहेको न्यून-चापीय क्षेत्रमा परिणत भइ बनेको चक्रवातका कारण मङ्गलबारदेखि नेपालका विभिन्न भूभागमा हावाहुरी, वर्षा र हिमपातको सम्भावना देखिएको छ।

उक्त न्यून-चापीय क्षेत्र आज चक्रवातमा परिणत भएको र मङ्गलबारसम्ममा धेरै शक्तिशाली चक्रवातमा परिणत हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाखाशाले प्रक्षेपण गरेको छ। उच्च हिमाली भू-भागमा हावाहुरी, हिमपात र वर्षाको सम्भावना रहेकाले पर्वतारोहीलाई सतर्कता अपनाइ सुरक्षित रहन अनुरोध गरेको छ।

सो प्रणालीका कारण मङ्गलबार अपराह्नपछि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली भई वाग्मती प्रदेश र प्रदेश नं १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ ।

देशका धेरै स्थानमा बुधबारदेखि केही दिन हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै प्रदेश नं १, प्रदेश नं २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा बिहीबार कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा समेत भारी वर्षाको समेत सम्भावना रहेको बताइएको छ ।