अक्सिजन सिलिण्डर फिर्ता गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आग्रह, जुन कम्पनी वा अस्पतालका सिलिण्डर हुन् तिनैलाई फिर्ता गरौं

अक्सिजन सिलिण्डर फिर्ता गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आग्रह, जुन कम्पनी वा अस्पतालका सिलिण्डर हुन् तिनैलाई फिर्ता गरौं
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले व्यक्तिगत वा अन्य कुनै तरिकाले लगिएका अक्सिजन सिलिण्डर फिर्ता गर्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले आज सूचना जारी गर्दै व्यक्तिगत, संस्थागत, आइसोलेशन केन्द्र र अस्पतालमा प्रयोगका लागि लगिएका सिलिण्डर जुन कम्पनी वा अस्पतालको हो उसैलाई फिर्ता गर्न अनुरोध गरेका छन्।

अक्जिसनको आपूर्ति सहज भए पनि व्यक्तिगत वा संस्थागत रूपमा लगिएका सिलिण्डर फिर्ता नगर्नाले समस्या भएको छ । ‘एउटा उद्योगका अक्सिजन सिलिण्डर अन्यत्र जाने क्रम पनि अत्यधिक बढिरहेको छ । यसले आगामी दिनमा समस्या निम्त्याउने देखिन्छ,’सहप्रवक्ता डा अधिकारीले जारी गरेको सूचनामा भनिएको छ।

विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले व्यक्तिगत, आइसोलेशन केन्द्र र अस्पतालमा प्रयोगका लागि विभिन्न तरिकाले लगेका अक्सिजन सिलिण्डर समयमा नै जुन कम्पनी वा अस्पतालका सिलिण्डर हुन तिनै अक्सिजन उत्पादक कम्पनी वा अस्पतालमा पुग्ने गरी आवश्यक व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।

मन्त्रालयकाअनुसार अहिले ३२ वटा अस्पतालमा अक्सिजन प्लान्ट र तीन अस्पतालमा तरल अक्सिजन प्लान्ट रहेका छन् । सङ्क्रमणको दोस्रो लहर आइसकेपछि सरकारले ९०० अक्सिजन कन्सन्ट्रेटर र पाँच हजार अक्सिजन सिलिण्डर ल्याएको छ । मन्त्रालयले अहिले हप्तामा ७० देखि ८० टन तरल अक्सिजन भारतमा आयात गरिरहेको छ।