हिमालय अनुसन्धान केन्द्र निर्माण अन्तिमचरणमा, यो केन्द्र बनेपछि विश्वको दुर्लभ वन्यजन्तुको अनुसन्धान गर्न सकिने

ताप्लेजुङ। कञ्चनजङ्घा संरक्षण क्षेत्रमा बन्दै गरेको हिमालयन अनुसन्धान केन्द्र निर्माण कार्य अन्तिम चरण पुगेको छ। फक्ताङलुङ गाउँपालिका–६ स्थित खम्बाचेनमा निर्माण भइरहेको भवनको निर्माण कार्य ७५ प्रतिशत सम्पन्न भएको कञ्चनजङ्घा संरक्षण क्षेत्रका कार्यालय प्रमुख तथा संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए।
यो केन्द्र बनेपछि विश्वको दुर्लभ वन्यजन्तु हाब्रे (रेडपान्डा) कस्तुरी मृग, कोलो भालु, रुख भालु, वन कुकुर, घरलजस्ता विभिन्न वन्यजन्तुको अध्ययन अनुसन्धान गर्न सकिने बताइएको छ। भवनको पर्खाल लगाउने कार्य सम्पन्न भइसकेको छ । अब छानो हाल्न बाँकी रहेको छ । आवश्यक निर्माण सामग्री यस अगाडि नै ढुवानी भइसकेकाले निर्माण कार्य आगामी असार मसान्तसम्म सम्पन्न हुने कञ्चनजङ्घा संरक्षण क्षेत्रको कार्यालयले जनाएको छ ।
बहुवर्षे योजनाअन्तर्गत २०७४ सालदेखि शुरु भएको १२ कोठाको भवन निर्माण कार्य २०७७ असार मसान्तसम्ममा निर्माण गरी सक्नु पर्ने गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागअन्तर्गत कूल बजेट रु चार करोड ९७ लाख पाँच हजार १५० मा सुवर्ण जेवी हिमालयन कन्स्ट्रक्सनले ठेक्का सम्झौता पाएको थियो ।
हिमाली क्षेत्र भएकाले सदमुकामदेखि आवश्यक निर्माण सामग्री चार दिन लगाएर बोकेर निर्माण स्थलसम्म पुर्याउनु पर्ने र हिउँका कारणले वर्षको चार महिना मात्र काम गर्न सकिने भएकाले तोकिएको समयमै निर्माण कार्य सम्पन्न हुन नसकेको संरक्षण अधिकृत तिवारीले बताए।
नेपालको राष्ट्रिय पन्छी डाँफे, मुनाल, नेपालमा मात्र पाइने डाँडेभ्याकुँरा विभिन्न प्रजातिका चराचुरुङ्गी र विभिन्न जडीबुडी साथै प्रजातिका वनस्पति पाइने भएकाले अध्ययन अनुसन्धान गर्नका लागि हिमालयन अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्न लागेको बताइएको छ।

प्रतिकृया दिनुहोस्