पाँच वर्षमा पनि सकिएन सोलु करिडोरको काम, छैटौं पटक म्याद थपिँदै

सोलुखुम्बु। निर्माणाधीन सोलु करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाले छैटौंपटक म्याद थपका लागि फाइल अगाडि बढाएको छ।
सन् २०१६ सेप्टेम्बर २५ मा ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरेको आयोजनाले पुनः छैटौंपटक म्याद थपका लागि फाइल अघि बढाएको हो । सन् २०२१ मेमा काम सक्ने शर्तमा पाचौंपटक म्याद थप गरेको आयोजनाले पुनः तीन महिनाका लागि समय थप गर्न लागेको आयोजना प्रमुख जनार्दन गौतमले बताए।
उनुभयो । उहाँका अनुसार जिल्लामा उत्पादित विद्युत् बाहिर लैजान १३२ केभी प्रसारण लाइन निर्माण गरिएको भए पनि स्थानीयवासीको अवरोधका कारण समयमा नै सम्पन्न हुन नसकेको हो ।
सिरहाको मिर्चैयाबाट सोलुखुम्बुको तिङ्लासम्म ३०२ वटा टावर निर्माण गर्नुपर्ने भए पनि अहिलेसम्म २९२ वटामात्रै फाउण्डेशनको काम सकिएको आयोजनाले जनाएको छ । आयोजना प्रमुख गौतमकाअनुसार अन्य १० वटा टावरको फाउण्डेशन निर्माण गर्ने क्षेत्रमा भने स्थानीयवासीले अवरोध गरेका छन् ।
उदयपुरको मरुवामा १० वटा टावर निर्माण गर्नुपर्ने भए पनि स्थानीयवासीको अवरोधका कारण काम अगाडि बढाउन नसकिएको प्रमुख गौतमको भनाइ छ । उनीहरुले मुअब्जाको माग गर्दै काम अगाडि बढाउन नदिएको बताइएको छ ।
यस्तै ९० किलोमिटर दूरी रहेको करिडोरमा अहिलेसम्म ६० किलोमिटर तार टाँगिएको छ । बाँकी ३० किलोमिटर सोही अवरोध हुने क्षेत्रभित्रमा पर्छ । सोलुखुम्बुको पत्तालेमा दुई किलोमिटर र बाँकी मरुवामा नै तार टाँग्न बाँकी रहेको आयोजनाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्