कञ्चनजंघा संरक्षण क्षेत्रमा नाउर गणना सुरु

ताप्लेजुङ। ताप्लेजुङको कञ्चनजंघा संरक्षण क्षेत्रकमा नाउरको गणना सुरु गरिएको छ। कञ्चनङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् र विश्व वन्यजन्तु कोषको सहयोगमा गत हप्तादेखि नाउर गणना थालिएको हो।
ओलाङचुङगोला, याङमा, घुन्सा र याम्फुदिन ब्लकमा विभाजन गरेर गणना भइरहेको कार्यक्रम संयोजक जितेन चेम्जोङले बताए। पाँच बर्ष अगाडि गरिएको गणनामा २२०० को संख्यामा नाउर रहेको थियो।
संरक्षण क्षेत्रका चार ब्लकमा हिउँ चितुवा अनुगमन उपसमिति गठन भएको छ । नाउर र हिउँ चितुवा लागयतका वन्यजन्तुको निरीक्षण गर्ने जिम्मेवारी हिउँ चितुवा उपसमितिलाई रहेको घुन्सा ब्लक हिउँ चितुवा उपसमितिका अध्यक्ष पेमा शेर्पाले बताए।
गत महिना विश्व वन्यजन्तु कोष र परिषद् बीच नाउर निरीक्षण र हिउँ चितुवा संरक्षण गर्नका लागि ४० लाख रुपैयाँको कार्यक्रम सम्झौता भएको व्यवस्थापन परिषदका अध्यक्ष खगेन्द्र फेम्बुले बताए। समुन्द्र सतह देखि पाँच हजार मिटर भन्दा माथिको उचाइको हिमाली क्षेत्रमा पाइने वन्यजन्तु नाउरको हालको अवस्था र नाउरको गणना कार्य भइरहेको फेम्बुले बताए।

प्रतिकृया दिनुहोस्