पार्टी एकता जोगाउन महासचिव पोखरेलको आह्वान, कोरोना कोषमा सात महिनाको तलब र पार्टी कोषमा ६ लाख जम्मा

पार्टी एकता जोगाउन महासचिव पोखरेलको आह्वान, कोरोना कोषमा सात महिनाको तलब र पार्टी कोषमा ६ लाख जम्मा
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीभित्रको एकतामा सङ्कट देखा परेकाले यसबाट जोगाउन आह्वान गरेका छन्। उपप्रधानमन्त्रीको जिम्मेवारीबाट बाहिरिएपछि आफू पार्टीको काममा चुनौतीको सामना गर्न थप सक्रिय भएको उनले बताए।

“राष्ट्रिय राजनीतिमा अस्थिरताका आशङ्काले त्रास उत्पन्न भइ आर्थिक विकास र समृद्धि अभियान तथा राष्ट्रिय स्वाभिमान एवं स्वतन्त्रताको विषयलाई कमजोर बनाउने दुष्प्रयत्न भएकाले यसलाई एकताबाट परास्त गर्नु पर्छ,” उनले भने।

“मुलुकलाई अराजकता र अस्तव्यस्ततातर्फ धकेल्ने, सामाजिक सद्भावलाई बिथोल्ने आदि दुष्प्रयत्न हुँदैछन् र ती प्रवृत्तिलाई प्रश्रय दिन भित्र/बाहिरबाट प्रयत्न भइरहेको कुरालाई बुझ्न सकिन्छ। यस्तो बेलामा सिङ्गो राष्ट्रले आम नेपाली जनताप्रति सुदृढ र जनआधारित एमालेप्रति आशा गरेको कुरालाई बुझ्न सकिन्छ। अवश्यकतालाई पूरा गर्ने चुनौतीपूर्ण उद्देश्यद्वारा निर्देशित हुनुपर्ने छ। यसका लागि पार्टीका सबै नेता, कार्यकर्ता, समर्थकलाई गोलबद्ध हुन अनुरोध गर्दछु,” महासचिव पोखरेलले अपिल गरे।

महासचिव पोखरेल २०७४ साल फागुन १४ गतेदेखि २०७७ असोज २८ गतेसम्म रक्षामन्त्री र त्यसपछि २०७८ साल जेठ २१ गतेसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने जिम्मेवारीमा थिए। उक्त अवधिलाई आफूले राजनीतिक र सामाजिक जीवनको महत्वपूर्ण समयावधिका रूपमा लिएको उनले बताए।

पार्टीको कोषमा ६ लाख जम्मा

एमाले महासचिव पोखरेलले सरकारको उपप्रधान तथा रक्षामन्त्री भएकाले अवधिमा पार्टी कोषमा ६ लाख पाँच हजार जम्मा गरेको जानकारी दिएका छन्। आज सामाजिक सञ्जालमा उपप्रधान तथा रक्षामन्त्री भएको बेला सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै यस्तो जानकारी दिएका हुन्। एमालेमा पार्टीको सिफारिसमा सुविधाको पदमा जाने नेता र कार्यकर्ताले अनिवार्य लेवी बुझाउनु पर्दछ।

कोरोना कोषमा साढे चार लाखभन्दा बढी जम्मा

एमाले महासचिव पोखरेलले सरकारको उपप्रधानमन्त्री भएको बेला पाएको सात महिनाको पारिश्रामिक ४ लाख ५६ हजार ४०० कोभिड कोषमा जम्मा गरेका छन्। उनले आज सामाजिक सञ्जालमार्फत भनेका छन्- उपप्रधानमन्त्री तथा रक्षामन्त्री भएको अवधिमा राज्यलाई बुझाउनुपर्ने सुविधा तथा सबै किसिमका दायित्व पूरा गरेको छु।