असारदेखि नयाँ भर्ना सुरु गराउँदै शिक्षा मन्त्रालय, शिक्षक महासंघ पर सार्ने पक्षमा

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले आउँदो असार १ गतेदेखि वैकल्पिक माध्यमबाट नयाँ शैक्षिकसत्र सुरु गर्न निर्देशन दिएका छन्। शिक्षामन्त्री श्रेष्ठले असार १ गतेबाट नयाँ भर्ना प्रक्रिया र कक्षा सञ्चालन गर्न आग्रह गर्दै त्यसका लागि कार्यक्रम तर्जुमा गर्न आज मन्त्रालयका उच्च कर्मचारीलाई निर्देशन दिएका हुन्।
कोभिड–१९ का कारण चालु शैक्षिकसत्र जेठसम्म लम्ब्याइएपछि नयाँ सत्र असार १ गतेदेखि हुने पूर्वनिर्धारण गरिएकामा यस वर्षको दोस्रो लहरको कोरोना रोकथामका लागि अधिकांश जिल्लामा निषेधाज्ञा जारी छ । वैकल्पिक माध्यमबाट सम्भव नभएका स्थानमा कसरी कक्षा सञ्चालन गर्ने भन्ने अन्योल भने कायमै छ ।
हतार नगर्न शिक्षक महासंघको आग्रह
नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले चालु शैक्षिकसत्रमा कात्तिकदेखि मात्रै सामुदायिक विद्यालयमा राम्रोसँग पढाइ सुरु भएकाले कोर्स पूरा गरी, वार्षिक परीक्षा र परीक्षाफल प्रकाशनपछि नयाँ भर्ना गर्दा साउन–भदौ पुग्न सक्ने भएकाले सोअनुसार गर्न सरकारलाई तयारी गर्न आग्रह गरेका छन्।
“स्थितिको समग्र विश्लेषणविना हतारहतार असारदेखि कक्षा सञ्चालन गर्नुले निजी विद्यालयलाई मात्रै प्रोत्साहन हुन्छ । सबै सामुदायिक विद्यालयमा वैकल्पिक माध्यमको पढाइ प्रभावकारी नभएको पक्षलाई पनि भुल्न हुँदैन,” उनले भने। विद्यालय शिक्षामा ८० प्रतिशत हिस्सा सामुदायिक विद्यालयको छ ।
विद्यमान शिक्षा नियमावलीमा वर्षमा २२० दिन विद्यालय खुल्नुपर्ने १९२ दिन पढाइ हुनुपर्ने व्यवस्था भएकामा कोरोना महामारीपछि विद्यालय पूर्ववत् सञ्चालन हुन नसक्दा सञ्चार तथा सूचना प्रविधिको सहायतामा वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरण भएका बेला पाठ्यक्रम समायोजन गरी सिकाइ निरन्तरता गरिएको छ ।

प्रतिकृया दिनुहोस्