यी हुन् प्रदेश १ को आगामी बजेटका प्राथमिकताका क्षेत्र, प्रदेशको पानी प्रदेशकै जनताको लगानी कार्यक्रम सञ्चालन हुने

विराटनगर। प्रदेश १ सरकारले ल्याउने आगामी आर्थिक बर्ष २०७८/०७९ को बजेटका मुख्य प्राथमिकताहरुमा स्वास्थ्य, सामाजिक विकास, पुर्वाधार विकास, कृषि,सहकारी, पर्यटन, भूमि व्यवस्था, उद्योग बाणिज्य, वन तथा वातावरण, सार्वजनिक सेवा प्रवाह र सुशासन रहेका छन्।
यही प्राथमिकताको आधारमा बजेट विनियोजन गरिने आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबुहाङले प्रदेशसभा बैठकमा जानकारी दिएका छन्। आगामी बर्षको बजेटको सिद्धन्त र प्राथमिकताहरु प्रस्तुत गर्दै कोरोना महामारीका कारण पर्यटन उद्योग र कृषि क्षेत्रको उत्पादन बृद्धि र राजगारीका अवसर सिर्जना गर्न राहत तथा आर्थिक पुनरुथानका कार्यक्रम सञ्चालन गर्ने उनले बताए।
‘प्रदेशको पानी प्रदेशकै जनताको लगानी’ कार्यक्रम सञ्चालन
जलविद्युत उत्पादन गर्नको लागि प्रदेश १ सरकारले आगामी आर्थिक बर्ष २०७८/०७९ मा ‘प्रदेशको पानी प्रदेशकै जनता लगानी’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। निजी क्षेत्र र स्थानीयबासीलाई लगानी गर्न आकर्षित गर्दै प्रदेशको आम्दानी बृद्धि गर्न प्रदेश लगानी बोर्डमार्फत योजना अगाडि बढाइने मन्त्री आङबुहाङले जानकारी दिएका छन्। यीबाहेक सौर्य उर्जा र अन्य नविकरणीय उर्जाका क्षेत्रमा समेत लगानी गरिने भएको छ।
औद्योगिक करिडोर र औद्योगिक ग्राम बनाइने
विराटनगर। प्रदेश १ मा घरेलु, साना, मझौंला र ठुला उद्योगहरुको स्थापना र पुनरुथानको लागि औद्योगिक करिडोर र औद्योगिक ग्राम बनाइने भएको छ। प्रदेशस्तरमा औद्योगिक करिडोर र स्थानीय तहमा औद्योगिक ग्राम बनाउन बजेट व्यवस्था गरिएको छ। यी क्षेत्रमा स्वदेशी लगानीलाई प्राथमिकता दिइने छ।
कोभिड रोकथाम र नियन्त्रणका लागि सांसदहरुको ध्यानाकर्षण
बैठकको शुण्य समयमा सांसदहरुले कोभिड-१९ को रोकथाम र नियन्त्रणको लागि ध्यानाकर्षण गराएका थिए। सांसदहरु इन्द्र आङबो, ज्योती सुब्बा, झलकबहादुर मगर, नारायणबहादुर मगर, प्रतापप्रकाश हाङगाम बलबहादुर सम्सुहाङ, लिला सुब्बा,सन्जाकुमारी दनुवार, सीताकुमारी थेवे र सुर्यामा राज राईले बोलेका थिए।
प्रदेश १ को बजेट अधिवेशन बैठक भोलि जेठ २६ गते ११ बजेसम्मको लागि स्थगित गएको छ। भोलिदेखि बजेटका प्राथमिकताका क्षेत्रहरुको विषयमा छलफल हुने सभामुख प्रदिपकुमार भण्डारीले बताए।

प्रतिकृया दिनुहोस्