स्वास्थ्य मापदण्ड तयार गरी इलामका चिया उद्योग खुल्ने

स्वास्थ्य मापदण्ड तयार गरी इलामका चिया उद्योग खुल्ने
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

इलाम। कोरोना महामारीले चिया निर्यात नभएपछि उद्योग बन्द गरेका सूर्योदय नगरपालिकाका उद्यमीले पुनः सञ्चालनमा ल्याउने भएका छन्। नगर, चिया तथा कफी विकास बोर्डका प्रतिनिधि र उद्योगीका प्रतिनिधिको संयुक्त छलफलबाट हरियो चियापत्ती टिप्दा न्यूनतम तीन मिटर सामाजिक दूरी कायम गर्नुपर्ने, अनिवार्यरूपमा मास्क, सेनिटाइजर पञ्जाको प्रयोग, चिया खाजाको व्यवस्था घरबाटै गर्ने लगायतका स्वास्थ्य मापदण्ड तयार गरेका छन्।

त्यस्तै २ बजेसम्म सङ्कलन केन्द्रमा सङ्कलन गरेर ५ बजेभित्र उद्योगसम्म पुयाउने, एक/एक घण्टामा सावुनपानीले हात धुने र एउटा बोरामा अधिकतम ३० किलोभन्दा बढी ढुवानी गर्न नपाउने मापदण्डमा उल्लेख छ ।

चिया प्रशोधन कार्यमा दुई वा तीनभन्दा बढी श्रमिक राख्न नपाउने, गुणस्तरीय चिया उत्पादन कार्यविधि, २०७५ को पालना गर्नुपर्ने, श्रमिक वा अन्य कामदारको विवरण प्रत्येक दिन सम्बन्धित वडामा बुझाउने, चिया टिप्न प्रयोग गरिने सुरक्षा सामग्री मजदूरलाई सम्बन्धित चिया कृषकले उपलब्ध गराउनुपर्ने, चिया ढुवानीको सवारी वडा कार्यालयमा दर्ता भएको हुनुपर्नेलगायत बुँदा समेटिएका छन् ।

चिया क्षेत्रमा सङ्लग्न किसान, श्रमिक वा उद्योगमा कार्यरत मजदुरमा सङ्क्रमण देखिएमा स्वास्थ्य शाखामा सम्पर्क गर्न अनुरोध गरिएको छ । सङ्क्रमितलाई उपचारको लागि अस्पतालसम्म लग्न सवारीसाधनको व्यवस्था नगरले गर्ने जनाइएको छ । यसअघि गत वर्ष पनि नगरले १४ बुँदे मापदण्ड पालना लागु गराएर चिया टिपाईलाई सहज बनाएको थियो । रासस