लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई मुख्य प्राथमिकता

बुटवल। लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज मंगलबार सार्वजनिक भएको छ। आज बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख धर्मनाथ शाहले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक बर्षमा कोभिड-१९ रोकथाम र नियन्त्रणको लागि पूर्वाधार, औषधि, स्वास्थ्य उपकरण र पर्याप्त जनशक्तिको व्यवस्था गर्ने भएको छ। विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीलाई दुर्गम क्षेत्रमा काम गराउनका लागि प्रोत्साहन गरिने र स्वास्थ्य संस्थाको सेवा प्रभावकारी बनाइने भएको छ।
गर्भवति महिलालाई निशुल्क हवाइ एम्बुलेन्स सेवा दिने
लुम्बिनी प्रदेश सरकारले दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवति महिलालाई निशुल्क हवाइ एम्बुलेन्स सेवा दिने भएको छ। यो सेवालाई आगामी आर्थिक बर्ष २०७८/०७९ नीति तथा कार्यक्रम सरकारले समावेश गरेको हो।
यस्तै जोखिममा परेका गर्भवति महिलाहरुलाई अस्पतालसम्म पुग्नका लागि निशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिएको छ। प्रदेशमा सुविधा सम्पन्न अस्पताल निर्माणको लागि सम्भाव्यता अध्ययन गरिने सरकारको नीति तथा कार्यक्रममा समावेश रहेको छ।
लुम्बिनी र राप्ती प्रादेशिक अस्पताल गौरवको आयोजनामा
लुम्बिनी प्रदेश सरकारले लुम्बिनी र राप्ती प्रादेशिक अस्पताललाई प्रदेशको गौरवको आयोजनामा समावेश गरेको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम यी अस्पताललाई आधुनिक सेवासहित विशिष्टिकृत गरिने उल्लेख छ।
त्यस्तै प्रदेशका सबै जिल्ला अस्पताललाई ५० शैय्याको अस्पताल बनाउने भएको छ। बर्दिया, अर्घाखाँची, नवलपरासी र भीम अस्पतालमा नयाँ भवन निर्माण गर्ने र भालुवाङ र लमहीमा नयाँ आस्पताल निर्माण गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।
‘एक स्थानीय तह एक नमुना विद्यालय’ स्थापना गर्ने
लुम्बिनी प्रदेश सरकारले ‘एक स्थानीय तह एक नमुना विद्यालय’ स्थापना गर्ने भएको छ।
आगामी आर्थिक बर्ष २०७८/०७९ नीति तथा कार्यक्रम शिक्षालाई गुणस्तरीय र प्रविधिमैत्री बनाउन यो कार्यक्रम समावेश गरेको जानकारी दिइएको छ।
स्थानीय तहसँगको सहलगानीमा यो कार्यक्रम सञ्चालन गरिने भएको छ। यीसँगै मातृभाषामा पाठ्यक्रमको विकास गर्ने र महिला छात्राबासको सुदृढिकरण गरिने नीति कार्यक्रम उल्लेख छ।
‘एक स्थानीय तह एक खेलकुद संरचना’ निर्माण गरिने
लुम्बिनी प्रदेश सरकारले ‘एक स्थानीय तह एक खेलकुद संरचना’ निर्माण गर्ने भएको छ। स्थानीय तहसँगको सहलगानीमा खेल मैदान निर्माण गरिने भएको हो। ‘नेत्रलाल अभागी’ रंगशाला दाङ र उजिरसिं रंगशाला रुपन्देही अन्तर्राष्टियस्तरको बनाइने भएको छ।
‘नेत्रलाल अभागी’ रंगशालालाई प्रदेशको गौरवको आयोजनामा समावेश गरेको लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।
आगामी बर्ष १०१ वटा सडक र पुलको निर्माण सम्पन्न गर्ने
बुटवल। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा १०१ वटा सडक र पुलको निर्माण कार्य सम्पन्न गर्ने भएको छ। आगामी आर्थिक बर्ष २०७८/०७९ नीति तथा कार्यक्रम उल्लेख भएअनुसार नेपाल सरकारको अनुदानमा ३५ सडकपुल र प्रदेश सरकारको अनुदानमा ११९ वटा सडकपुल निर्माणाधिन रहेका छन्।
आगमी बर्ष ५४ वटा सडकको निर्माण थलानी गर्ने र केही प्राथमिकतामा रहेका सडकको थप अध्ययन गर्ने भएको छ।
‘एक जिल्ला एक निर्यात हुने बाली पहिचान’
बुटवल। लुम्बिनी प्रदेश सरकारले ‘एक जिल्ला एक निर्यात हुने बाली पहिचान’ गरी निर्यात प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ। प्रदेशमा आयात दर घटाउन यो कार्यक्रम सञ्चालन गरिने भएको हो ।
त्यस्तै हरेक स्थानीय तहमा बालीको विउ प्रवर्द्धन गरिने भएको छ। अर्गानिक जिल्ला घोषणा भएको रुकुमपूर्वमा कृषि उत्पादनलाई बृद्धि गर्न आवश्यक पूर्वधार निर्माण गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख रहेको छ।
‘एक पालिका एक नमुना कृषि वन कार्यक्रम’
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ‘एक पालिका एक नमुना कृषि वन कार्यक्रम’ सञ्चालन गर्ने भएको छ। खाली रहेका जमिनमा बृक्षरोपण गरेर किसानको आयआर्जन बृद्धि गर्न यो कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।
यो कार्यक्रम रुपन्देही, कपिलवस्तु,दाङ,बाँके,बर्दिया र नवलपरासीमा सञ्चालन गरिने भएको छ। त्यस्तै सामुदायिक वन उपभोक्ताको क्षमता विकास र निकुञ्जहरुमा पर्यापर्यटनको विकास गरिने भएको छ।
लुम्बिनी प्रदेशसभा को प्रदेशसभा बैठक आगामी जेठ २७ गतेसम्मको लागि स्थगित भएको छ। आगामी बैठकमा सरकारको नीति तथा कार्यक्रमको विषयमा छलफल हुने प्रदेशसभा सचिवालयले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्