महाकाली तिरमा भारतले सडक बनाउँदा नेपालतिरको बाटोमा क्षति

काठमाडौं। भारतले कैलाश मानसरोवर सडकखण्ड निर्माणका क्रममा विस्फोटक पदार्थ विस्फोट गर्दा भारतको मात्र नभई नेपालतिरको बाटोसमेत भत्किएको छ। व्यास गाउँपालिका-२ को कल्जु क्षेत्रमा भारतले सडक निर्माणका क्रममा विस्फोट गराउँदा तम्बाकु क्षेत्रमा बाटो अवरुद्ध भएको स्थानीय मुकेश बुढाथोकीले बताए।
स्थानीय र प्रदेश सरकारको लगानीमा निर्माण गरिएको घोरेटो बाटो भत्किए नेपालतिरको आवतजावत पूर्णरूपमा बन्द भएको बुढाथोकीले बताए। भारतले कैलाश मानसरोवर सडक विस्तारका क्रममा ठाउँठाउँमा विस्फोट गराउने गरेको छ । यसबाट महाकाली नदी वारि नेपालतिर ढुङ्गा आएर बाटो अवरुद्ध भएको छ ।
मङ्गलबार दिउँसो प्रहरी चौकी दुम्लीङबाट करिब २०० मिटर उत्तरी क्षेत्रमा पर्ने तम्बाकु क्षेत्र नजिकै नेपालतिरको बाटो पूरै अवरुद्ध भएको छ । भारतको सडक निर्माणका क्रममा आएको पहिरो नेपालतिर पुगेको हो ।
भारतले धार्चुला लिपुलेक मानसरोवर सडक दुई लेनको बनाउनका लागि हाल गर्वाधार क्षेत्रमा चट्टान काटिरहेको छ । भारतले सडक निर्माणका क्रममा अत्यधिक जिलेटिनको प्रयोग गर्ने भएकाले बेलाबेलामा नेपालतर्फको बाटो अवरुद्ध हुने गरेको छ ।
दुम्लीङदेखि बुदीसम्म भारतले सडक विस्तार र निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गरेर नेपालतिर क्षति पुर्याएको छ । ढुङ्गाहरु ठाउँठाउँमा नदीमा मिसिएर थुनिएका छन् । ठाउँठाउँमा भारतबाट आएका ढुङ्गा महाकाली नदीमा गएर नदीको धार परिवर्तन गरेको छ । भारत सरकारले महाकाली नदी किनारै किनार भएर सडक निर्माण गरेको छ ।
अवरुद्ध भएको १५० मिटर बाटो प्रहरी चौकी दुम्लीङका प्रहरी सहायक निरीक्षक जनकबहादुर सिंह तथा स्थानीयवासीको सक्रियतामा निर्माण सुरु गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी नरेन्द्रबहादुर चन्दले बताए। कल्जु तम्बाकु क्षेत्रमा घोरेटो बाटो अवरुद्ध हुँदा व्यासको छाङ्गरु र तिङ्कर आवतजावतसमेत बन्द भएको छ । रासस

प्रतिकृया दिनुहोस्