प्रदेश सरकारको नीति कार्यक्रम : कोभिड नियन्त्रणदेखि डिजिटल प्रदेश निर्माणसम्म

प्रदेश सरकारको नीति कार्यक्रम : कोभिड नियन्त्रणदेखि डिजिटल प्रदेश निर्माणसम्म
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विराटनगर। प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम ल्याएको छ। प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सरकारको नीति तथा कार्यक्रम प्रदेशसभा बैठकमा वचन गर्नु भएको छ। प्रदेश सरकारले तीन खम्बे आर्थिक नीति र कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखेको छ। आजदेखि सरकारको नीति तथा कार्यक्रम छलफल भइरहेको छ।

अक्सिजन प्लान्टसहित सुविधायुक्त जिल्ला अस्पताल बनाउने

“गुणस्तरीय स्वास्थ्य सेवा प्रदेश सरकारको प्रतिबद्वता” भन्ने मुल नारासहित प्रदेश मातहतका सबै अस्पतालहरुको गुरुयोजना तयार गर्ने भएको छ। मेची अस्पताललाई २०० शैया, धनकुटा र पाँचथर जिल्ला अस्पताललाई १०० शैया र अन्य जिल्ला अस्पताललाई न्युनतम ५० शैयामा स्तरोन्नति गर्ने नीति कार्यक्रमा समेटिएको छ।

ती अस्पतालमा अक्सिजन प्लान्ट, सघन उपचारकक्ष निर्माण, विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी, आवश्यक औजार तथा यन्त्र उपकरण र भौतिक पूर्वाधारको व्यवस्था गरिने सरकारको नीति कार्यक्रमा उल्लेख छ। मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारीको स्तरोन्नति गरि प्रभावकारी सेवा संचालन र अस्पतालमा आइ.सी.यू., सी.सी.यु, एच.डी.यु र भेन्टिलेटर भरपर्दो प्रबन्ध मिलाउने छ।

‘डिजिटल स्वास्थ्य, डिजिटल प्रदेश’

कोभिडविरुद्धको खोपमा सरल र सहज पहुँचलाई सुनिश्चित गर्न ‘डिजिटल स्वास्थ्य, डिजिटल प्रदेश’ कार्यक्रम कार्यान्वयनमा ल्याइने भएको छ। भौतिक रुपमा उपस्थित हुन नसक्ने अवस्था भएकाले यो कार्यक्रम कार्यान्वयनमा ल्याउने भएको हो।

औषधि, अक्सिजन लगायतका स्वास्थ्य सामग्रीको सहज आपूर्ति तथा वितरण व्यवस्थापनका लागि संघीय सरकारसँगको समन्वय तथा सहकार्यमा सबै संशाधनको परिचालन गर्ने नीति तथ कार्यक्रममा उल्लेख छ। निरोधात्मक र प्रतिरोधात्मक स्वास्थ्य, जनचेतना, सरसफाई, वातावरणीय सुरक्षा र पोषणसँग सम्बन्धित छ । जनस्वास्थ्य, अस्पताल, स्वास्थ्य केन्द्र, सरसफाई र पोषणसँग सम्बन्धित कार्य प्रदेश सरकारको मुख्य प्राथमिकतामा राखी अगाडि बढाइनेछ।

‘एक पालिका एक खेल मैदान निर्माण’

प्रदेश १ सरकारले ‘एक पालिका एक खेल मैदान निर्माण’ गर्ने भएको छ। आगामी आर्थिक बर्षको सरकारको नीति तथा कार्यक्रममा स्थानीय तहसँग साझेदारीमा खेलमैदान निर्माण गरिने विषय समेटिएको छ। त्यस्तै मुख्यमन्त्री कप तथा राष्ट्रिय लिग फुटबल प्रतियोगिता, स्काईवाक, साहसिक पर्यटकीय खेलहरुलाई समेत प्राथमिकतामा राखी आवश्यक पुर्वाधार निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।

ढुङ्गेसाँघु, सहिदभूमि छिन्ताङ र सुखानीलाई नमुना गाउँ

ढुङ्गेसाँघु, सहिदभूमि छिन्ताङ र सुखानीलाई नमुना गाउँ बनाउने भएको छ। सरकारले ल्याएको नीति तथा कार्यक्रममा वीर शहीद एवं ऐतिहासिक भूमिलाई नमुना गाउँ बनाउन विस्तृत परियोजना प्रतिवेदनको आधारमा बजेट ब्यवस्था गर्ने उल्लेख छ। ती गाउँमा प्राविधिक शिक्षासहितका कार्यक्रम शहीदरहरुको प्रेरणादायी स्मृति केन्द्र र राजनेता पार्क निर्माण गरिने बताइएको छ।

“मेरो कृषि, मेरो पौरख” अभियान

कृषि क्षेत्रको विकासको लागि प्रदेश सरकारले “मेरो कृषि, मेरो पौरख” अभियान सञ्चालन गर्ने भएको छ। आर्थिक बर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा बाँझो जमीन राख्न नपाइने नीतिका साथ सबै जमीनहरुलाई कृषि उत्पादनमा प्रयोग गर्ने योजना रहेको छ।

चैते धान, हाइव्रिड मकै, लसुन, प्याज उत्पादक किसानलाई उत्पादनमा आधारित अनुदान दिने र स्थानीय तहसँगको लागत सहभागितामा सिंचाई, कृषि बजार तथा कृषि उपज भण्डारण पूर्वाधार विकास गरिने योजना नीति तथा कर्यक्रममा समेटिएको छ।

१६ वटा पर्यटकीय गन्तव्यमा लगानी गर्ने

आगामी आर्थिक वर्षमा प्रदेश १ सरकारले १६ वटा पर्यटकीय गन्तव्यमा लगानी गर्ने भएको छ। भेडेटार, कन्याम। अन्तु, तिनजुरे मिल्के जलजले,टेम्के, केचना, वेतना, पातालेलगायतका पर्यटकीय क्षेत्रमा लगानी गर्ने भएको हो। त्यस्तै सगरमाथा, मकालु र कन्चनजंघा हिमालको आधारशिविरसम्म जाने बाटो निर्माण गर्ने योजना समेत रहेको छ।

प्रदेश १ का १४ वटै जिल्लाका प्रमुख एबं मुख्य पर्यटन गन्तब्यस्थलको पर्यटन गुरुयोजना तयार गर्ने,धार्मिक सर्किट, हिमाली दृश्यावलोकन सर्किट, सांस्कृतिक अवलोकन मार्ग, इको-ट्रेल तथा जलयात्रा क्षेत्रको विकास गर्ने सरकारको योजना रहेको छ।